बुद्धको मूर्ति राख्न महोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ कार्तिक ।
बुद्धको मूर्ति स्थापनाका लागि आवश्यक रकम संकलन गर्न सुर्खेतमा महोत्सव सुरु भएको छ । वीरेन्द्रनगर–६ आँखा अस्पताल नजिकै रहेको खाली जग्गामा बुद्ध सरोवर निर्माण गर्न महोत्सव आयोजना गरिएको हो । नेपाल आदिवादी जनजाति जिल्ला समन्वय परिषद् सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको खुलामञ्चमा शुक्रवारदेखि महोत्सव सञ्चालनमा आएको हो । बौद्ध धर्मावलम्बीहरूका लागि प्रमुख आस्था स्थलका रूपमा विकास गरी पर्यटकहरू भिœयाउने योजना महोत्सव आयोजक समितिको छ ।


करिब ६ दिनसम्म सञ्चालन हुने ‘कृषि तथा सांस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव’ मार्फत् बुद्धको मूर्ति निर्माणका लागि आवश्यक रकम जुटाइने भएको हो । रकम अभावका कारण आवश्यक संरचना नहुँदा विगत सात वर्षदेखि बुद्धको मूर्ति जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । काँक्रेविहार संरक्षित वन क्षेत्रमा राख्नका लागि भित्रिएको उक्त मूर्ति विवाद भएपछि प्रहरी परिसरमा राखिएको छ । प्रहरीको निगरानीमा राखिएको मूर्तिलाई संरक्षण गरी बौद्ध सरोवरका रूपमा विकास गरिने भएको छ । जसका लागि महोत्सव सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवमार्फत् एक करोड रूपैयाँ जम्मा हुने लक्ष्य लिइएको छ । करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । समितिका अनुसार महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ३० र अन्यलाई ५० रूपैयाँ शुल्क निर्धारण गरिएको छ । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष एवम् मेला आयोजक मूल समारोह समितिका अध्यक्ष पञ्चसिंह रोकाया (खाम्पा) ले बौद्धस्थल निर्माण गर्ने र पर्यटकहरू भिœयाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । पछिल्लो समय
लोप हुँदै गएको विभिन्न जातिका कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको उनले बताए । कर्णाली प्रदेशका आदिवासी जनजातिहरूको बाहुल्यता रहेको भन्दै महोत्सवमै आदिवासी जनजाति सुन्दरी प्रतियोगिता समेत हुनेछ । उनका अनुसार प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने सुन्दरीहरूमध्ये उत्कृष्टलाई सम्मान र पुरस्कारसमेत दिइनेछ । मेलामा दुई सय ५० स्टल राखिएको प्रचार–प्रसार समितिका संयोजक मिलन श्रेष्ठले बताए । महोत्सवमा पहिलो प्राथमिकता स्थानीय व्यापारीहरूलाई दिएको र स्थानीय व्यापारीलाई स्टल भाडामा २० प्रतिशत छुट दिएको छ ।
महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीको विकासका लागि पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए । ‘बुद्ध जन्मेको देश नेपाल हो । प्रदेश राजधानीमा बुद्ध सरोवर निर्माण हुनुले मानसरोवर पुग्ने पर्यटकहरू पनि यहाँ आउने छन्’ उनले भने । आयोजक समितिका अनुसार आज (शनिवार) रामजी खाँण, रिता केसी र अर्जुन सोनाम लगायतका कलाकारले प्रस्तुती राख्नेछन् । मेला १४ गते सकिनेछ ।

प्रकाशित मितिः   १० कार्तिक २०७५, शनिबार १५:४४