चार दिनदेखि शिक्षक बेपत्ता

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ कार्तिक ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ बर्माघाटस्थित जनसेवा प्राथमिक विद्यालयमा कार्यरत शिक्षक बेपत्ता भएका छन् । दशैं बिदा भएपछि वीरेन्द्रनगर–४ भैरवस्थानमा रहेको घर आएका शिक्षक दिपकबहादुर बम कार्तिक–६ गतेदेखि बेपत्ता भएका हुन् ।
‘मर्निङ वाक’ मा निस्किएका उनी हालसम्म पनि सम्पर्कमा नआएको उनकी श्रीमती सूर्यकुमारी शाही बमले बताइन् । भेरी पुलमा सेल्फी खिच्न झरेका यात्रुहरूले दिपकको मतदाता परिचय–पत्र, पासपोर्ट साइजको फोटो र चप्पल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय छिन्चुले उक्त प्रमाणहरू भेटिएको सूचना फेसबुकमार्फत् सार्वजनिक गरेको थियो । परिवारले फेसबुक परिचय खुल्ने सामग्री भेटिएको सूचना पाए लगत्तै खोजी थालेको छ ।
‘फेसबुकमा काजगपत्र भेटिएको देखेपछि फोन गरियो, मोबाइल घरमा भएकाले फोन उठेन’ श्रीमती सूर्यकुमारीले भनिन्, ‘घरवरिपरि कतै हुनुहुन्छ कि भनेर खोजी गरियो । सम्पर्कमा नआएपछि प्रहरीमा खोजी गरी पाउँ भनेर जाहेरी दर्ता गराएका छौं ।’ उनले खोजीका लागि सहयोग गरिदिनसमेत अनुरोध गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बेपत्ता शिक्षकको खोजी कार्य तीव्र पारिएको जनाएको छ । नदीको किनारामा मतदाता परिचयपत्र, पासपोर्ट साइजको फोटा भेटिएकाले नदीमा हाम फालेको आशंकामा भेरीमा खोजी गरिएको जिल्ला प्रहरी प्रमुख बसन्त रजौरेले बताए ।
‘खोज, अनुसन्धान र सोधपुछ जारी राखेका छौं’ रजौरेले भने, ‘घटनाबारे केही भन्न सक्ने अवस्था छैन्, प्रहरीले खोजी तीव्र पारेको छ ।’ बेपत्ता दिपक जनसेवा प्राविमा नेपाली विषयका शिक्षक हुन् । उनका दुई छोरी र एक छोरा छन् । २०४२ सालदेखि शिक्षण पेसामा संलग्न उनले ‘मन्धिर’ कविता संग्रहसमेत प्रकाशन गरेका छन् ।

प्रकाशित मितिः   १० कार्तिक २०७५, शनिबार १५:४२