कम्प्युटर इन्जिनियर बन्ने सपना

पलाँता गाउँपालिका–७ कालिकोटका पदम विष्ट वि.सं. २०५७ साल असार १८ गते बुबा जयबहादुर विष्ट र आमा पद्मीकला विष्टको कोखबाट जन्मिएका हुन् । पाँच भाइबहिनीमध्ये जेठा छोरा पदमलाई सानैदेखि कम्प्युटरमा रुची थियो । कालिकोटको विकट गाउँमा जन्मिएका पदमका बुबा–आमालाई भने छोरोलाई भविष्यमा के बनाउने भन्ने थिएन तर छोरोले जागिर खाओस् र समाजमा प्रतिष्ठा बढोस् भन्ने ईच्छा थियो । राप्ती ईन्जिनियरिङ्ग कलेज घोराही दाङ्गमा डिप्लोमा कम्प्युटर इन्जिनियरिङ्ग प्रथम वर्षमा अध्ययनरत पदम सानैदेखि पढाइमा अधिक रुचि राख्दथे । पढाइबाहेक पदमलाई अरु कहिल्यै केही गर्न आएन । भविष्यमा सरकारी सेवा गर्ने सपना बोकेका पदम विष्टले आफ्नो कलेज लाईफबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटेः


म कालिकोटको विकट गाउँमा जन्मिएको मान्छे । बुबाआमा कृषि पेसामा आवद्ध । म घरको जेठो छोरा, घरमा अन्य आयस्रोत केही पनि थिएन । बुबा–आमाले मैले कुनै पनि हालतमा जागिर खाएको हेर्न चाहनुहुन्थ्यो । भविष्यमा छोरोलाई के बनाउने भन्दा पनि कसरी जागिर खान सकिन्छ त्यतातिर बुबा–आमाले मलाई लाग्नको लागि सल्लाह दिनुहुन्थ्यो ।
मलाई पढाइमा गाइड गर्ने घरमा अरु ठूलो मान्छे कोही पनि थिएन । तर मलाई एसएलसी पास गरेपछि कम्प्युटर ईन्जिनियर पढ्ने सपना थियो । वि.सं. २०७२ सालमा मैले कालिकोटको श्री दुधेशिल्लो माध्यमिक विद्यालयबाट एसएलसी पास गरें र कम्प्युुटर ईन्जिनियर बन्ने सपना बोकेर दाङ गएँ । तर मेरो प्रवेशिका परिक्षामा नाम निस्किएन र निराश भएर घर फर्कें । दुई वर्ष जति ग्याप गरेर मैले २०७४ सालमा नाम निकालेर पढेको छु ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन खासै रमाइलो भएन । किनभने म गाउँबाट झरेको मान्छे, दाङमा जाँदा साथीहरूपनी सबै नयाँ–नयाँ थिए । तर एकातिर म नयाँ ठाउँमा गएको भएर नरमाइलो लागे पनि अर्कोतिर मैले मेरो सपना पूरा भएको देखेर भित्रभित्रै दङ्ग परेको थिएँ । कलेजबाट फर्कंदा पनि रमाइलो लाग्यो । कलेजको पहिलो दिननै मैले साथीहरूसँग परिचय गरें, त्यसपछि मेरो निराशा हरायो ।
मलाई कलेजको सबैभन्दा रमाइलो लाग्ने पक्ष भनेको साथीहरूसँग परिचय हुन्छ । नयाँ–नयाँ साथीहरूसँग भेट हुन्छ त्यो मलाई एकदमै रमाइलो लाग्छ । अर्को कुरा बिहानै–बिहानै उठेर कलेज जानुपर्ने भएकोले त्यो भने एकदमै नराम्रो पक्ष लाग्छ । दिउँसोको समयमा कलेजमा पढ्न पाउँदा रमाइलो लाग्थ्यो सायद । मैले धेरैजसो पढाइमा ध्यान दिने गर्दछु । फिल्मप्रति मैले त्यति ध्यान दिने गरेको छैन । बिदाको समयमा भने कहिलेकाहीं जाने गरेको छु, फिल्म हलमा । क्लास बंक मैले कहिल्यै गरिनँ ।
पढाइमा मात्रै मैले विशेष प्राथमिकता दिने गरेको छु । मलाई पढाइ बाहेक अन्य राजनीति, खेलकुद लगायत कुनै पनि कुरामा ध्यान छैन । बुबा–आमाले छोरोले जसरी पनि जागिर खाओस् भन्ने सपना देख्नुभएको छ । त्यो सपना पूरा गर्नको लागि पनि मैले पढाइ बाहेक अन्य क्षेत्रमा ध्यान दिएको छैन । पे्रम एउटा स्वभाविक प्रक्रिया हो । जसले जसलाई प्रेम गर्दा पनि हुन्छ तर प्रेमीकालाई प्रेम गर्दा भने विशेष ध्यान दिनु पर्दछ । मैले मेरो आमा–बुबा, भाइबहिनी र आफन्त साथीहरूलाई बाहेक प्रेमिकासँगको प्रेम भने गरेको छैन । मेरो लक्ष्य भनेको बुबा–आमाको सपना पूरा गर्ने हो ।
मेरो सपना
म एकदमै ग्रामिण क्षेत्रमा जन्मिएको मान्छे । गाउँघरतिर प्रायः डाक्टर र शिक्षकको मर्यादा बही हुन्छ । तर मेरो सानैदेखिको सपना कम्प्युटर ईन्जिनियर बन्ने थियो । त्यसैको लागि मैले रातदिन संघर्ष गरिरहेको छु । मेरो भविष्यमा सरकारी जागिरमा छिर्ने लक्ष्य छ । त्यो पनि कम्प्युटर ईन्जिनियर भएर । आमा–बुबाको सपना र मेरो सपना त्यतिबेला साकार हुन्छ जतिबेला म ईन्जिनियर भएर नेपालमा काम गर्ने अवसर पाउनेछु ।

प्रकाशित मितिः   १० कार्तिक २०७५, शनिबार १५:४२