स्वास्थ्य कार्यालय स्थापना
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ कार्तिक ।
कर्णाली प्रदेशका तीन जिल्ला हेर्ने गरी सुर्खेतमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बुधवार उक्त कार्यालयको उद्घाटन गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित साविकको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको भवनमा स्वास्थ्य कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो । उक्त कार्यालयले सुर्खेतसहित जाजरकोट र दैलेख जिल्ला हेर्नेछ ।
स्वास्थ्य कार्यालय उद्घाटन गर्दै मन्त्री रावलले कर्णालीका नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउन प्रदेश सरकारले काम गरिरहेको बताए । उनले स्वास्थ्य सेवा पाउनु जनताको नैसर्गिक अधिकार भएको भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य कार्यालयले सहयोग गर्ने बताए । ‘नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको दायित्व हो’ मन्त्री रावलले भने, ‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयले सहयोग पु¥याउनेछ ।’ मन्त्री रावलले कर्मचारीहरू स्थायी सरकार भएको औंल्याउँदै प्रभावकारी सेवाका लागि तत्पर भएर लाग्न सुझाव दिए ।
कार्यालयले तीनवटै जिल्लाको आधारभूत स्वास्थ्य सेवा, प्राविधिक सहयोग र व्यवस्थापकीय काम हेर्ने कार्यालय प्रमुख धिरजंग शाहले बताए । उनका अनुसार कार्यालयमा प्रशासकसहित १४ जनाको दरबन्दी छ । कर्णाली प्रदेशका दश जिल्लामा ६ वटा स्वास्थ्य कार्यालय स्थापना हुनेछन् । यसअघि पश्चिम रुकुम र सल्यान हेर्नेगरी सल्यानमा, जुम्ला र कालिकोट हेर्नेगरी जुम्लामा कार्यालय स्थापना भइसकेको छ ।
डोल्पा, हुम्ला र मुगुमा हरेक जिल्लामा छुट्टा–छुट्टै कार्यालय स्थापना हुनुपर्नेमा स्थापना हुन बाँकी रहेको स्वास्थ्य निर्देशनालयका सिनियर अहेव अमर रानाले जानकारी दिए ।
साझा बिसौनी ।