बावियाचौर च्यालेन्ज कप हुँदै

साझा बिसौनी संवाददाता
पञ्चपुरी, ७ कार्तिक ।
पश्चिम सुर्खेतको पञ्चपुरीमा बावियाचौर खुला फुटबल च्यालेन्ज कप प्रतियोगिता हुने भएको छ । बावियाचौर स्पोर्टस् क्लब पञ्चपुरीले तिहारको
अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिता कार्तिक १४ देखि २० गतेसम्म बावियाचौर रंगशालामा सञ्चालन हुनेछ । जिल्लाको पश्चिमी क्षेत्रमा लुकेर रहेका फुटबल खेलाडीहरूलाई अगाडि बढाउन र नयाँ खेलाडी उत्पादन गरी राष्ट्रियस्तरसम्म पु¥याउनका लागि क्लबले प्रत्येक वर्ष यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ८० हजार आठ सय ८०, द्वितीय हुने टिमलाई २६ हजार र तृतीय हुने टिमलाई मेडल प्रमाणपत्र र सम्मान गरिने आयोजक समारोह समिति तथा खेल संयोजक पूर्णबहादुर रावलले जानकारी दिए ।
पञ्चपुरी नगरपालिका, विभिन्न संघ–संस्था र व्यक्तिहरूको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिने रावलले बताए । प्रतियोगिता खुला भएकोले जुनसुकै जिल्लाबाट सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।
यसैबीच पश्चिम सुर्खेतकै चौकुने गाउँपालिकामा पनि प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । वडास्तरीय प्रथम अध्यक्ष कप महिला र पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद विकास समिति चौकुनेले आयोजना गर्ने प्रतियोगितामा चौकुनेका एकदेखि १० वडा सम्मका टिमहरू सहभागी हुनेछन् । कार्तिक १७ गतेदेखि प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता सञ्चालन गर्ने स्थान र पुरस्कारको टुङ्गो भने लागिसकेको छैन । आज (बिहीवार) त्यसको पनि टुङ्गो लाग्ने समितिका संयोजक खड्क थापाले जानकारी दिए ।