अग्ला डाँडा चढेर टेलिफोन

जगतदल जनाला बिक
सुर्खेत, ६ कार्तिक ।
चौकुने गाउँपालिका–१ का खिमबहादुर बास्तोला कसैलाई टेलिफोन सम्पर्क गर्नुप¥यो भने घरभन्दा माथिको डाँडामा उक्लिन्छन् । हातमा मोबाइल भए पनि दुई÷तीन घण्टा हिँडेर डाँडामा पुगेपछि मात्रै टेलिफोन गर्न पाइन्छ । मोबाइल नेटवर्कले काम नगर्दा खिमबहादुर मात्र होइन पश्चिम सुर्खेतको चौकुनेका अधिकांश नागरिक टेलिफोन गर्न यसैगरी अग्ला डाँडातिर उक्लिन्छन् ।


यो युगलाई सूचना, सञ्चार र प्रविधि विकासको युग मानिन्छ तर पश्चिम सुर्खेतका नागरिक भने मोबाइल नेटवर्कको पहुँचभन्दा समेत बाहिर छन् । चौकुने गाउँपालिकाको लगाम र बेतानमा विगत चार महिनादेखि इन्टरनेट र मोबाइल नेटवर्क राम्रो नहुँदा यहाँका बासिन्दाले ठूलो समस्या झेल्नुपरेको छ । कोही आफन्त वा कसैलाई टेलिफोन सम्पर्क गर्नुप¥यो भने अग्ला–अग्ला डाँडातिर धाउनुपर्छ । झट्ट सुन्दा अचम्म लागे पनि यहाँका नागरिकले यही बाध्यतासँग साक्षात्कार गरिरहेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि एक सय किलोमिटर टाढा रहेको पश्चिमको चौकुने गाउँपालिकामा यो समस्या अझ बढी छ । ‘कसैलाई फोन गर्नुप¥यो भने दुई÷तीन घण्टा पैदल हिँडेर अग्ला डाँडामा जानुपर्ने बाध्यता छ’ बास्तोलाले भने । विशेष गरी आफन्तलाई फोन सम्पर्क गर्नुपर्दा, इन्टरनेटको प्रयोग गर्दा अग्ला डाँडामा चढ्नुको विकल्प नभएको उनले बताए । चौकुने गाउँपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुनसिं विक पनि सञ्चारको सहज पहुँच नहुनु दुःखद् भएको बताउँछन् । उनले जतिसक्दो छिटो यो समस्या समाधान गर्नुपर्ने बताए । स्थानीय, प्रदेश र संघीय सरकारले नै बेवास्ता गर्दा चौकुनेका नागरिकले सहज रूपमा टेलिफोन र इन्टरनेटको सेवा लिन नपाएको उनले बताए ।
अकस्मात कुनै घटना हुँदा वा बिरामी पर्दा अझ समस्या हुने गरेको स्थानीय उदय सांवदले बताए । फोन गर्न डाँडा जानु भन्दा कतिपय ठाउँमा केही आपतकालीन काम परे हिँडेरै छिटो पुग्न सकिने उनी बताउँछन् । फोन र इन्टरनेटको अभावमा सरकारी तथा गैरसरकारी कार्यालयहरूको सेवा पनि नराम्ररी प्रभावित हुने गरेको छ । मोबाइल नेटवर्क नभएकै कारण कुनै ठाउँमा घटना भएमा पनि समयमा जान नसकिएको अस्थायी प्रहरी पोष्ट लगामका इन्चार्ज केशबहादुर परियारले बताए । उनले भने, ‘विशेष गरी ठूला चाडपर्वमा बढी घटनाहरू हुने हुँदा पीडित उजुरी दिन हामीकहाँ आएर हामी त्यहाँ जाँदासम्म अपराधी फरार भइसक्छन् ।’
मोबाइल नेटवर्क नहुँदा कतिसम्म मार परेको छ भन्ने कुरा रिचार्ज कार्डको व्यापारले पनि देखाउँछ । चौकुने गाउँपालिका–२ का व्यवसायी हर्कबहादुर बुढाले गत असार महिनामा समूहबाट २० हजार ऋण लिइ रिचार्ज खरिद गरेका थिए । तर नेटवर्क नभएका कारण मोबाइलको प्रयोग कम हुन थालेपछि रिचार्ज कार्ड बिक्री नभएको र आफू घाटामा परेको उनले बताए । उनले भने, ‘सयकडा दुई रूपैयाँ
ब्याजदरले पनि पाँच महिनाको दुई हजार हुन्छ तर नेटवर्क नहुँदा ग्राहकले रिचार्ज किन्दैनन् ।’
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर २ लगाम भैरेलीकाँडाको नेपाल टेलिकमको टावर निर्माण गरेको एक वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । लगामको सोतामा हेल्लो नेपालको टावरले पनि काम गर्न छोडेको वर्षौं भइसक्यो । बेतानमा सञ्चालित स्काइ र नमस्तेको टावर पनि साउनदेखि प्रभावकारी रूपमा सञ्चालन नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ ।
चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले यही कार्तिक महिनाभित्र चौकुनेका लगाम, बेतान र रेक्चाका टावरहरूको स्तरोन्नतिका लागि गाउँपालिकाले नेपाल टेलिकमसँग समन्वय गरिरहेको बताए । उनले जतिसक्दो छिटो चौकुनेका सबै नागरिकलाई सञ्चारको सहज पहुँचमा पु¥याउने दाबी गरे ।

प्रकाशित मितिः   ७ कार्तिक २०७५, बुधबार १५:४३