महोत्सवको विरोधमा बजार बन्द
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असोज ।
सुर्खेतमा आयोजना गरिन लागेको महोत्सवको विरोधमा मंगलवार वीरेन्द्रनगर बजार बन्द गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतले व्यापारीसँगको समन्वय नै नगरी महोत्सव आयोजना गर्न लागेको भन्दै बजार बन्द गराएको हो ।
स्थानीय केही व्यवसायीहरूले महोत्सवको विरोधमा मंगलवार वीरेन्द्रनगर बजार बन्द आव्हान गरेका हुन् । ‘महोत्सव आयोजकले हामीसँग समन्वय गरेनन्’, फेन्सी व्यवसायी प्रेमप्रसाद पाण्डेले भने, ‘महोत्सवका नाममा स्थानीय व्यवसायलाई धरासायी पार्न खोजेपछि बजार बन्द गरेका हौं ।’ सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गत फेन्सी रेडिमेड वस्तुगत समितिका अध्यक्षसमेत रहेका पाण्डेले आफूहरूको आन्दोलनमा उद्योग वाणिज्य संघको पनि साथ रहेको दाबी गर्दै व्यसायीहरू कसैको करकापमा नभइ स्वतःस्फूर्त आन्दोलित भएको जिकिर गरे । तर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बजार बन्द गराउनुमा संघको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
यता, मेला आयोजक मूल समितिका संयोजक पञ्चसिंह रोकायले व्यवसायीले नै व्यापार मेलाको विरोध गर्नुको औचित्य नभएको बताए । स्थानीय व्यवसायीका लागि स्टल बुकिङ्गमासमेत २० प्रतिशत छुट दिएको भन्दै सबैको समन्वय र सहकार्यबाटै मेला आयोजना गर्न लागिएको उनको दाबी छ । ‘आफूले पटक–पटक मेला लगाउँदा व्यवसायीहरू मर्कामा नपर्ने अरुले लगाउँदा चाहिँ किन विरोध ?,’ रोकायले भने
‘आफूले गर्दा ठीक र अरुले गर्दा बेठीक भन्नु विरोधका लागि विरोध मात्रै हो ।’ तयारी पूरा भइसकेकाले निर्धारित मितिमै महोत्सव सुरु हुने उनको दाबी छ ।
महासंघले सुर्खेतमा यही कार्तिक ९ देखि १९ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘कृषि तथा सांस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव’ सञ्चालन गर्न लागेको छ । केही दिनअघि मात्र व्यापारीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर महोत्सव बन्द गराइदिन समेत आग्रह गरेका थिए । स्थानीय व्यवसायीबाट महोत्सवको विरोध हुन थालेपछि आयोजकले पनि केही लचकता देखाएको छ । स्थानीय व्यवसायीहरूलाई महोत्सवको स्टल बुकिङ्गमा २० प्रतिशत छुट दिने निर्णय महोत्सव आयोजकले गरेको छ ।
साझा बिसौनी ।