ढुंगाले थिचेर श्रीमतीको हत्या

साझा बिसौनी संवाददाता
दैलेख, ६ कार्तिक ।
मदिरा सेवन गरेर दैलेखमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । दैलेखको नौमूले गाउँपालिका– ४ का ५१ वर्षीया शेरबहादुर पुनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार कार्तिक २ गते राती शेरबहादुर पुनले आफ्नै श्रीमती ५३ वर्षीया शान्ति पुनको हत्या गरेका हुन् । प्रहरीका अनुसार दशैंको टिकाको दिन बिहानैदेखि श्रीमान्–श्रीमती दुवैले छिमेकीको घरमा गएर मदिरा सेवन गरेका थिए । साँझ घर फर्कने क्रममा बाटोमै दुवैजना बीच झगडा भएको र त्यहीक्रममा ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव
उपरीक्षक पोखरेलले बताए ।
उनका अनुसार छमेकीको घरमा श्रीमान–श्रीमती र छोरासँगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफूहरू घर फिर्ता हुने क्रममा झगडा भएको थियो । श्रीमतीको हत्या गर्ने पुनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।