कृषि अभियन्ता शक्ति
वीरेन्द्रनगर–१५ रतुका शक्तिबहादुर थापा (बुढा) बुबा कर्णबहादुर थापा र आमा जमुना थापाका जेठा छोरा हुन् । आठ भाइबहिनीमा जेठा छोरा शक्ति सानैदेखि शान्त स्वभावका थिए । प्राथमिक शिक्षा अध्ययन गर्दादेखि नै समाजसेवी स्वभावका शक्ति आफूलाई कृषि र सहकारीको अभियन्ता भन्न रुचाउँछन् । कृषि र सहकारीविना आर्थिक समृद्धि आउन नसक्ने बताउने शक्ति नवसन्दर्भ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । कृषिमा स्थानीय सेरेना जातको मौरी र बाख्रापालनलाई आफ्नो पेसा बनाएका शक्तिबहादुर थापाले आफ्नो पेसागत अनुभव हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः
बुबाआमा कृषि गर्नुहुन्छ । म सानैदेखि पढाइमा तेज तर शान्त स्वभावको थिएँ । नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय रतु देविस्थानबाट दिएको कक्षा पाँचको परीक्षामा जिल्ला दोस्रो भएको थिएँ । आज पनि प्रमाणपत्र सजाएर राखेको छु ।
तर पछि मेरो पढाइ बैबाहिक सम्बन्ध र द्वन्द्वको कारणले बिग्रियो । मैले कक्षा १० पढ्दै थिएँ, मलाई तत्कालीन नेकपा माओवादी पार्टीको एउटा जिम्मेवारी दिइयो । त्यो बेलामा जिम्मेवारी जबरजस्ती दिइएको थियो तर आज त्यो आवश्यकता थियो भन्ने लाग्छ । पढ्न छोडेर म पार्टीको काममा निरन्तर लागें ।
मेरो पढ्ने रहर त्यो बेला पनि मेटिएको थिएन, जतिबेला म जनयुद्धको अभियानमा होमिएको थिएँ । तर त्यो बेला पढ्न सम्भव भएन । मैले वि.सं. २०७१ सालमा एसएलसी दिएँ र पास नि भएँ । म आफूलाई कृषि र सहकारीको अभियन्ता भन्न रुचाउँछु । किनभने कृषि र सहकारीविना आर्थिक समृद्धि हुनै सक्दैन । राजनीति मेरो प्रमुख पेसा होइन, कृषि र सहकारी प्रमुख पेसा हो ।
म वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी पार्टीको तर्फबाट वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ को वडा अध्यक्षको उम्मेदवार बनेको थिएँ । तर पराजित भएँ ।
हाल मैले मौरीपालन गर्दै आएको छु । वि.सं. २०७२ सालबाट स्थानीय सेरेना जातको मौरी २९ घार र ५६ वटा बाख्रा पालेको छु । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले मौरीपालनको लागि करिब दुईलाख बराबरको अनुदान रकम दिएको थियो त्यो बाहेक अरु कुनै संघ–संस्था र राज्यबाट सहयोग पाएको छैन । वीरेन्द्रनगर नगरपालिका–१५ रतुमा श्री नवसन्दर्भ बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष समेत भएर काम गरेको छु ।
मलाई समाज सेवा अत्यन्तै म पर्छ । म प्राथमिक कक्षा पढ्दादेखि नै गाउँमा मन्दिर निर्माण गर्ने, विभिन्न क्लबहरू गठन गरी विभिन्न चेतनामूलक कार्यक्रमहरू समेत गर्ने गर्थें । अहिले पनि म समाजमा जस्तोसुकै समाजिक कामहरूमा पुगिहाल्छु । मेरो पहिलो प्राथमिकता कृषि नै हो । मैले मौरी र बाख्रापालन बाहेक कागती र अनार तथा टिमुर खेतीसमेत गरेको छु । मैले भविष्यमा यो बन्छु भन्ने त कहिल्यै सोचिनँ तर समाजसेवामा भने मलाई खुब रुचि लाग्थ्यो । आज पनि त्यो स्वभाव गएको छैन ।
पछिल्लो समय कृषि र सहकारी मेरो सपना भएको छ । जिल्लाकै नमुना कृषक बन्ने लक्ष्य छ तर एक्लैले सकिँदो रहेनछ । कुनै संघ–संस्था र राज्यले हामी जस्तो कृषि क्षेत्रबाटै केही गर्न चाहाने युवाहरूको लागि अनुदान नभए पनि सहुलियत दरमा ऋण मात्रै उपलब्ध गराएको भए पनि मैले धेरै गर्न सक्थें । वीरेन्द्रनगर नगरपालिकाले समेत नगरपालिकाको वडा नं. १४,१५ र १६ लाई कृषि तथा फलफूलको पकेट क्षेत्र घोषणा गरेको छ । केही गर्छ कि भन्ने आशा लागेको छ । मेरा तीन जना छोराछोरी छन् । पाँच जनाको परिवारलाई कृषि पेसाबाटै राम्रोसँग जीवन गुजार्न पुगेको छ । म मेरो पेशाप्रति सन्तुष्ट छु ।
साझा बिसौनी ।