बाढीपीडितलाई पीडा थप्ने पर्व
साझा बिसौनी संवाददाता
सुर्खेत, ५ कार्तिक ।
हरेक वर्षजस्तै यस वर्ष पनि दशैं आयो । बराहताल–२ सुर्खेतका बलवीर नेपालीले दशैंको टीका र जमरा लगाए । आशिर्वाद लिए–दिए । तर उनको मनमा भने दशैंले कुनै रौनक ल्याएन । बरु मनभित्र पीडा लुकाएरै भए पनि उनले दशैं मनाए । बलवीरले यसरी पीडा लुकाएर दशैं मनाउन थालेको पनि पाँच वर्ष बित्यो ।
बाढीले घरबार लगेपछि विस्थापित भइ गिरीघाटस्थित अस्थायी शिविरमा बस्दै आएका बलवीरलाई दशैं र तिहारजस्ता चाडपर्व अचेल खुशी लिएर आउने पर्व होइन पीडा दिएर जाने घाउ जस्तै लाग्छन् । ‘अरुका लागि त खुशी बोकेर चाडपर्व आउँछन् तर हामी दुखीकै हो मुटु–कलेजो जाने’ उनले भने । विस्थापित शिविरमा बस्न थालेदेखि उनले हर्षका साथै कुनै पर्व मनाउन पाएका छैनन् ।
एकातर्फ अस्थायी शिविरका बास । घाम र पानीको प्रहारले छियाँछियाँ भएका छन् त्रिपाल । तिनै त्रिपालले छाएको झुपडीमा बस्न थालेको चार वर्ष बित्यो । अझै पनि पुनस्र्थापनाको कुनै टुङ्गो छैन । साँझ–बिहानकै छाक टार्न मुस्किल पर्छ । चाडपर्व मनाउने कसरी ? यसकारण पनि बलवीरका लागि चाडपर्व भनेका पीडा बल्झाउने घाउ जस्तै बनेका छन् ।
बाढीले विल्लीबाठ पारेदेखि गिरीघाटमै बस्दै आएका अनिता शाहीले पनि खुशीका साथ चाडपर्व मनाउन पाएकी छैनन् । उनलाई विगतका दशैंहरूको सम्झनाले पोल्छन् । ‘घरभरी आफन्त आउँथे, कत्ति रमाइलो हुन्थ्यो’ उनले विगत सम्झिइन्, ‘हप्तैपिच्छे दशैं आओस् झै लाग्थ्यो । तर पाँच वर्ष भयो दशैं आउँदा पिरमात्रै बढ्छ ।’
वि.सं. २०७१ साउन अन्तिम साता आएको बाढीले सुर्खेतका एक सय १५ जनाको ज्यान लिनुका साथै ९ सय ७० परिवार विस्थापित बनायो । तिनै विस्थापितहरू वीरेन्द्रनगर, बराहताल, पञ्चपुरी लगायतका विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरू लामो समयदेखि पुनस्र्थापनाको पर्खाइमा छन् । तर सरकारले पुनस्र्थापनामा ढिलाइ गर्दा कष्टपूर्ण जीवन बिताउन बाध्य भएको पीडितहरूको गुनासो छ ।
बाढीपीडितले कतिसम्म समस्या झेल्नु परिरहेको छ भने घटस्थापनाका दिन दशैंका लागि जमरा राख्ने ठाउँ समेत पाएनन् । त्रिपालले छाएको सानो झुपडीमा बस्दै आएका उनीहरूलाई जमरा राख्ने छुट्टै ठाउँ थिएन । न त उनीहरूले नयाँ लुगा लगाएर मिठो मसिनो खान नै पाए । ‘दुई छाक टार्नै मुस्किल हुन्छ, दशैंका लागि भनेर कसरी थप जोहो गर्नु’ गिरीघाट शिविरका ५५ वर्षीय कमल सुनारले भने ।
पुनस्र्थापनाको पर्खाइ बाढी आएको बेला घरखेत बगाउँदा वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी शान्ता नेपालीको मनमा जति पीडा थियो, त्यतिबेला विभिन्न निकायबाट पाएको सहयोगले राहत भएको थियो । उनलाई लागेको थियो, दुःखमा पर्दा हेर्ने सबै छन् । तर समय बित्दै पाँच वर्ष बितिसके उनी भने विस्थापित शिविरमै छिन् ।
विस्थापित शिविरमा बसेदेखि सरकारी तथा गैर–सरकारी निकायले सहयोग गरे । तर, पुनस्र्थापनाका लागि कुनै पहल नभएको उनको गुनासो
छ । ‘सुरुमा त मनभरी पीडा भए पनि सबैले सहयोग गर्दा समस्या हुँदैन लागेको थियो’ उनले भनिन्, ‘तर हाम्रो समस्या भने अहिले पनि जहाँको
त्यहीँ छ ।’ बाढीपीडितहरू यतिबेला पुनस्र्थापनाको पर्खाइमा छ ।
तर पुनस्र्थापनामा भएको ढिलाइले उनीहरूको दैनिकी कष्टपूर्ण बनिरहेको छ ।
शिविरमा बस्दै आएकी भूमिका खत्रीले पनि पुनस्र्थापनाका लागि पहल गरिदिन सरकारसँग आग्रह गरिन । ‘किस्ता–किस्तामा रकम दिएर चरालाई चारो दिएजस्तो भयो’ उनले भनिन्, ‘सरकारले नै घर जग्गाको व्यवस्था गरिदिए हाम्रा दुःखका दिन केही भए पनि परिवर्तन हुने थिए ।’ जिल्लाका नौ सय ७१ परिवार बाढीपीडितमध्ये सात सय १६ परिवारसँग जग्गा नै छैन भने बाँकी दुई सय ५५ परिवारसँग जग्गा भए पनि घर छैन ।
साझा बिसौनी ।