कर्णालीमा दशैं शान्तिपूर्ण

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ कार्तिक ।
कर्णाली प्रदेशमा यस वर्षको दशंै शान्तिपूर्ण रह्यो । विगतका वर्षमा विभिन्न आपराधिक गतिविधिहरू हुने गरे पनि यस वर्ष भने दशैं शान्तिपूर्ण बनेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाका दृष्टिकोणले दशैंमा कुनै आपराधिक गतिविधिहरू भएनन् ।
छिटफुट सवारी दुर्घटना भए पनि कर्णालीका दश वटा जिल्लामा आपराधिक गतिविधि भने कुनै पनि नभएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले बताए । ‘विगतमा हुने गरेका जस्ता जाँडरक्सी खाएर आक्रमण गर्ने, सामूहिक रूपमा झगडा गर्ने जस्ता आपराधिक गतिविधि कर्णालीमा यस वर्षको दशैंमा भएनन्’ उनले भने, ‘सामान्य हातपातका घटना छिटफूट भएका छन् । समग्रमा ठूला कुनै पनि घटना कर्णालीमा घटेनन् ।’ उनले कर्णालीबासीले शान्तिपूर्वक दशैं मनाउन पाएको बताए । कर्णाली प्रदेशमा विशेष सुरक्षा व्यवस्था गरिएकाले दशैं शान्त भएको उनको दावी छ । प्रहरीले दशैंको सुरक्षाका लागि मोबाइल गस्ती, हाइवे गस्तीसहित सम्भावित स्थानहरूमा विशेष प्रहरी टोली परिचालन गरेको थियो ।