बाटो हेर्दै, आफन्त कुर्दै
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ असोज ।
दशैं सुरु भएपछि आफन्तहरू जम्मा हुन्थे, गाउँमा निकै चहल–पहल बढ्थ्यो । दौंतरीहरू भेटिँदा जैकला कार्की मनका बह पोख्थिन्, जीवनभर पाएका दुःख सहजै बिर्सन सक्थिन् । घरमा उब्जेको मिठोमसिनो खाएरै दशंै सन्तोषले मनाउँथिइन् । ठूलाबाट आशीर्वाद ग्रहण गर्थिन्, सानालाई दिन्थिन् ।
उमेरले ८१ काटिन् । तागत रहन्जेलसम्मका आफन्त टाढिए, घरपरिवारविहीन हुनुप¥यो । सन्तान र सहारा भनेकै एउटा छोरी छिन् । विवाह गरेपछि छोरीले नै वृद्धाश्रमको बाटो देखाइन् । भन्छिन्, ‘आफ्नो कोही नभएपछि छोरीको घरमा बसें । आँखा देख्न नसक्ने भएपछि काम गर्न सकिएन, छोरीले ‘अब पाल्न सक्दैनौं वृद्धाश्रम जाउँ’ भनेपछि यतै बसेकी छु ।’ सुर्खेतको बराहताल गाउँपालिकास्थित धनिगाडकी जैकलाले करिब १६ वर्ष भयो, वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रम आश्रय लिएको ।
वर्षेनी आउने दशैं–तिहारमा उनी विगत सम्झेरै बस्छिन् । वृद्धाश्रममा छिरेदेखि उनले आफन्तसँग दशंै मनाउन पाएकी छैनन् । ‘छोरीका छोराछोरी छन् तर यहाँ भेट्न कोही आउँदैनन्’ उनले भनिन्, ‘दिन गए, सबैले माया मारे । आफन्तसँग बसेर चाडवाड मनाएका ती दिन सपना जस्तै भए ।’ उनी वृद्धाश्रम आएदेखि छोरी एक पटक पनि भेट्न आएकी छैनन् । छोरीले आमाको माया मारे पनि उनमा भने छोरी भेट्न आउने आशा जीवितै छ । भन्छिन्, ‘छोरी–ज्वाइँ, नाती–नातिनी भए पनि कोही नभए जस्तो भइयो । अरुबेला भन्दा चाडवाड आउँदा भेट्न आउँछे कि भन्ने आशा लाग्छ ।’
बिहान उठेदेखि वृद्धाश्रमको छतबाट बाटो हेर्ने उनी साँझ परेपछि निराश भएर कोठामा पस्छिन् । घटस्थापनाका दिनदेखि उनी आफन्त आउँछन् कि भन्ने आशामा छन् । विगतमा दशंै मनाएको त्यो सुखद् पल र वृद्धाश्रम पुग्नुको पीडा सम्झेरै दिन बिताउँछिन् उनी । उमेर ढल्किसकेको छ, दौतरी भेट्ने इच्छा छैन । उनको इच्छा छ त, पछाडिको पुस्तालाई आशीर्वाद दिने । बुढेशकाल लागेकाले सबैकुरा स्मरण नै हुँदैनन् । ‘कहिले चाडपर्व पर्छन् थाहा हुँदैन’ उनी भन्छिन्, ‘आश्रममा जमरा राखेपछि दशैं आएको थाहा पाएँ । यो पटक कोही आउँछन् कि ?’ नाती–नातिना र छोरी–ज्वाईंलाई दशैंको टिकासँगै आशीर्वाद दिने उनको धोको छ । ‘छोरी ज्वाईं र नाती–नातिना खोज्दै जान सक्ने अवस्था छैन’ बाटो हेर्दै आश्रमको छतमा बसेकी उनले थपिन्, ‘बाटोमा कोही हिँड्यो कि आफन्तै लाग्छ । भेट्न आउने हुन् कि होइनन् थाहा छैन ।’
वीरेन्द्रनगरको बाङ्गेसिमलकी वासुदेवी गिरी
पनि आफन्तसँग दशंै मनाउन पाइन्थ्यो कि भन्ने आशामा छन् । उनी विगत ६ वर्षदेखि प्रशान्ति वृद्धाश्रममा बस्दै आएकी हुन् । उनको पनि छोरी छिन् । तर, छोरीसँगै दशैं मनाउन नपाएको धेरै भयो । ‘माइतमा कोही छैनन्’ ६० वर्षीय उनले भनिन्, ‘भएका छोरी–ज्वाईं मात्रै हुन्, छोरी चाडवाड छलेर भेट्न आउँछे ।’ अक्कल–झुक्कल छोरी भेट्न आउने भएकाले पनि दशैं आउँदा बाटो कुरेर बसेकी छन् । घटस्थापना सुरु भएदेखि नवमीसम्म छोरीको आशामा बित्छन् । भन्छिन्, ‘आउँछन् कि भनेर आशा गर्नु पनि बेकार छ । नवमीका दिनसम्म नआएपछि विगतको दशैं सम्झिँदै बस्नुप¥यो ।’
दशैं खुशीयालीको प्रतिक भए पनि जैकला र वासुदेवी जस्ता प्रशान्ति वृद्धाश्रममा आश्रित ११ जना वृद्धाहरूका लागि यो लागू हुन सकेको छैन । ‘ठूलावडाका लागि दशैंले खुशी ल्याए पनि गरीब र निमुखाका लागि यो सधैं बोझ बनेको छ’ बराहताल गाउँपालिकाको कुनाथरीकी लक्ष्मी गौतमले भनिन्, ‘सहरदेखि गाउँसम्म दशैंको रौनक छाए पनि हाम्रा लागि दशैं रमाइलो चाड नभइ नरमाइलो पर्व भएर आउँछ ।’
आफ्ना छोराछोरी, श्रीमान्, नाती नातिनाहरू हुँदाहुँदै पनि बाध्यताले वृद्धाश्रममा गएर बस्नेहरूका लागि दशैं खुशीको पर्व भएर होइन्, नरमाइलो दिन बनेर भित्रिएको छ । दशैंले गाउँ–सहर छोएको छ । बजारमा चहल–पहल बढ्न थालेको छ । तर, वृद्धाश्रम भने सुनसान बनेको छ । कहिले काहीं भजनकृतनका लागि जाने भक्तालुसमेत घर फिरिसके, आशीर्वाद लिन । वृद्धाश्रममा आश्रित वृद्धाहरू भने आशीर्वाद लिन आउने आफन्तको प्रतिक्षामा छन् ।
आश्रममा आश्रित ज्येष्ठ नागरिकका आफन्त दशैं मनाउन नआए पनि वृद्धाश्रमले नै उनीहरूका लागि दशैं मनाउने तयारी गरेको छ । वर्षमा एक पटक आउने पर्व वृद्धाश्रममा मनाउन जमरा राखिएको आश्रमका संरक्षक पवित्रा थापाले बताइन् । उनले दाताको सहयोगमा दशैं मनाइने बताइन् । ‘आश्रमका कार्यसमिति, कर्मचारी र वृद्धवृद्धाहरूबीच टिका र जमरा लगाएर दशैं मनाउने योजना बनाएका छौं’ उनले भनिन् ।
साझा बिसौनी ।