घुस लिने प्रहरी पक्राउ

सुर्खेत, २८ असोज । (साबिस)
१५ हजार रूपैयाँ घुस लिने दुई जना प्रहरी पक्राउ परेका छन् । जनताको सुरक्षामा खटिएका प्रहरीले चौकीबाटै घुस मागेर भाग्दै गरेको अवस्थामा आइतवार सुर्खेतमा दुई जना प्रहरी पक्राउ परेका हुन् ।
पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो ।
सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्नमा सहजीकरण गरिदिए वापत उनीहरूले घुस रकम मागेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।