अधुरै रह्यो नर्स बन्ने सपना

प्रतिमा मल्लाह प्रतिक्षा मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल हुन् । वि.सं. २०३९ चैत ५ गते बुबा स्व. राजाराम मल्लाह र आमा रेनु क्षेत्रीको कोखबाट बाँकेको नेपालगन्जमा जन्मिइन् । १६ वर्षको उमेरबाट शिक्षण पेसामा सक्रिय उनी सुर्खेत महिला जेसीज वर्ष २०१६ को अध्यक्ष पनि हुन् । यस बाहेक उनी विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध छिन् । अध्यापनका साथ–साथै अन्य सामाजिक गतिविधिमा उत्तिकै सक्रिय प्रतिमाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन् ः

मेरो जन्म नेपालगन्जमा भए पनि बाल्यकालको धेरै समय सुुर्खेतमा बित्यो । बुबा महिला प्रशिक्षण केन्द्रमा सरुवा भएर आएपछि म जन्मिएकै वर्ष हाम्रो परिवार सुर्खेत आयो । हामी चार बहिनी छौं । म माइली छोरी । मेरो पढाइ बाल मन्दिरबाट सुरु भयो ।
बाल्यकालमा चकचके, बाठो अनि जिज्ञासु स्वभावको थिएँ । चराले कसरी गुड लगाउँछन्, तिनका बच्चाबच्ची के गर्छन् र कसरी खाना खान्छन् होला भनेर म रुखरुखमा गएर हेर्थें । हामीलाई खेल्नका लागि धेरै समय हुँदैनथ्यो । म आठ वर्षको हुँदा आमा बित्नुभयो । म भन्दा अघि
(प्रभा मल्लाह) दिदी हुनुहुन्थ्यो । दिदी त्यसबेलामा क्याम्पस पढ्ने भइसक्नु भएको थियो । उहाँले जागिर पनि सुरु गर्नुभएको थियो । उहाँ जागिरमा जाँदा र क्याम्पस पढ्न जाने भएपछि घरमा मेरो जिम्मेवारी पनि बढ्यो । दुई बहिनी (प्रतिक्षा र प्रिति) लाई हेर्ने, खाना पकाएर खुवाउने अनि स्कुल जाने मेरो दैनिक कार्य हुन्थ्यो । खेल्ने र रमाउने धेरै समय नै भएन । हतार–हतार गरेर स्कुल जानुपथ्र्यो । तर समय भयो भन खेल्न, चराको गुड हेर्न, बारुलाको गोलो हेर्न म पुगिहाल्थें ।
म पढाइमा राम्रो थिएँ । शिक्षकहरूले पनि माया गर्नुहुन्थ्यौ । म स्कुलमा हुने हरेक अतिरिक्त क्रियाकलापमा भाग लिन्थें । हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगितामा धेरै नै भाग लिने गर्थें । गट्टा खेल्ने, बुलबुले, जिरो ड्याममा कपडा धुन जाने, त्यहाँ गएर पौडी खेल्ने गथ्र्यौ । हामी खोलामा जाने प्रायः चार÷पाँच जना साथीहरू हुन्थ्यौं । सानोमा घरको काममा पनि समय दिनुपर्ने भएकाले खेल्ने रमाउने समय भने धेरै हुँदैनथ्यो । तर समय भयो की म बदमासी काम गरिहाल्ने । सानोमा चना चोर्न गएको सम्झना छ । पहिला यहाँ बाक्ला घरहरू बनेका थिएनन् । खेतहरूमा चना लगाउँथे । हामी दिउँसै तातापानीतिर चना चोर्न जान्थ्यौं । थाहा पाइहाल्थे । भेटेर गाली मात्र होइन कुटी पनि हाल्थे । म दौडिन नसक्ने भेट्टाइहाल्थे । चनाका बोटहरू झाडीतिर फालेर चोरेको छैन भनेर ढाँट्थे ।
कक्षा पाँचसम्म बाल मन्दिरमा पढेपछि अमर ज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा कक्षा ६ देखि पढ्न सुरु गरें । नेवारे स्कुल पढ्दा बाटोमा इत्राम खोला पर्छ । पानीमा पौडी खेल्न र रमाउन धेरै मन लाग्थ्यो । हामी विद्यालय जाने समयमा भने कक्षा नै बन्द गरेर खेल्दैनथ्यौं । साँझको समयमा भने घर फर्किदा पौडी खेल्थ्यौं । एक दिन मेरो नाकको फूली हरायो । त्यसबेलामा बिहानको समयमा पढाइ हुन्थ्यो । ९÷१० बजेदेखि खोलामा फूली खोज्न लागेको भेट्नै सकेनौं । बालुवामा खोज्यौं, भेटेनौं । दिउँसो चार बजेसम्म खोज्दा पनि फूली भेटिएन । खाना नै नखाइ दिनभरी फूली खोज्दा नभेटिएपछि साँझ घर आयौं । दिदीले गाली गर्नुभयो । पिटाइ पनि खाइयो । त्यस दिनदेखि पौडी यसरी खेल्नु हुने रहेनछ भनेर खोलामा खेलेनौं ।
अहिले सम्झदा रमाइलो पनि लाग्छ । त्यसबेलामा ठूलै बदमासी गरेको हो । घरमा आर्थिक अवस्था कमजोर हुँदा पनि प्रभा दिदीले हामीलाई कहिल्यै पनि केहीको कमी हुन दिनुभएन । पढाइमा नै फोकस गर्नुहुन्थ्यो । सीमित आयस्रोतले हाम्रा असीमित आवश्यकताहरू पूरा गर्न तत्पर हुनुहुन्थ्यो । त्यसबेलामा हामीले घरमा कुखुरा पनि पालेका थियौं । कुखुरा बेच्ने, कुखुराका अण्डा बेचेर पनि पैसाको जोहो गर्ने हुन्थ्यो । एक दिन वनभोज खाने भनेर मैले चार÷पाँच जना साथीहरूसँग मिलेर घरकै चार किलोको भाले चोरेर लिएँ । म त्यसबेलामा ११ वर्षको मात्र थिएँ । दिउँसो कुखुरा काटेर वनभोज खायौं । साँझ घरमा त्यति ठूलो कुखुरा हरायो भनेर दिदी कराउन थाल्नुभयो । अरु अरुलाई गाली गर्नुभयो । छिमेक वरपरका मानिसहरूलाई शंका गर्नुभयो । तर हामीले चोरेर वनभोज खाएको थाहा पाउनुभएन । गल्ती हामीले गरेका थियौं तर गाली अरु मान्छेहरूले खाइरहेका थिए । पछि मलाई असैह्य नै भयो । मैले दिदीलाई हामीले चोरेर वनभोज खान गएको भनें । दिदीले गाली गर्नुभयो । पहिला नै भनेको भए म अरुलाई गाली गर्दिन थिएँ भनेर । मैले त्यस दिनदेखि आफ्नो कारणले अरुलाई नराम्रो हुने रहेछ भनेर त्यस दिनबाट कहिले पनि गलत काम गरिनँ ।
दिदीले हामीलाई पढाइमा मात्र ध्यान दिन भनिरहनुहुन्थ्यो । साधारण जीवन बनाउनुपर्छ । हामी अरु भन्दा भिन्दै हुनुपर्छ । सकारत्मक सोच राख्नुपर्छ भनेर दिदीले हामीलाई राम्रो संस्कार सिकाउहुन्थ्यो । उहाँले जीवनमा तीन वटा कुराको महŒव हामीलाई सानैदेखि सम्झाइ रहनुहुन्थ्यो । समय, बुबाआमा र पैसा । यिनी तीन वटा कुरालाई चिन्न सकिएन भने जीवन पश्चातापपूर्ण हुन्छ भन्नुहुन्थ्यो । त्यसकारण पनि मेरो जीवन सकारात्मक सोचतिर गयो । आमा नभए पनि आमाको माया दिएर दिदीले हामीलाई कुनै कुराको कमि हुन दिनुभएन ।
सानैदेखि भगवानप्रति आस्था राख्थें । भगवनाको विश्वास लाग्थ्यो । पूजा गर्ने, ब्रत बस्ने गर्थें । कोही नहुनेको भगवान हुन्छ भन्ने मलाई विश्वास थियो । मेरो दिदी र बहिनी भन्दा म भगवानको विश्वास गर्थें । भगवानलाई पनि खाना चाहिन्छ भनेर प्रसाद किन्थें । बिहान साँझ प्रसाद चढाउँथे । पानी चढाइरहन्थें । मेरो बहिनीहरूले पनि म नभएको बेलामा हामीले तपाईंको भगवानलाई पानी चढाइदिम, प्रसाद चढाइदिम भनेर भन्थे । कहिले काहीं तपाईंको भगवानलाई हामीले घण्टी ल्याइदिएका छौं भनेर भन्थे । म बाहिर हुँदा मेरो भगवानलाई हेरिदिएका छन् कि छैनन् भनेर चिन्ता लाग्थ्यो ।
मेरो बाल्यकालदेखि सामाजिक सेवा गर्ने रुचि थियो । दुखी देख्यो भने वा कोही घरमा माग्न आयो भने केही न केही दिइहाल्थें । बुढाबुढी देख्यो भने दिन मन लागिहाल्थ्यो । हुन त हामी आफैलाई पनि खर्च व्यवस्थापन गर्न दिदीलाई गाह्रो हुन्थ्यो । बुबाले मात्र कमाएको पैसाले पुग्दैनथ्यो । तर पनि मैले कसैलाई पनि खाली हात फर्काउने गरिनँ । भविष्यमा नर्स बन्छु, दुखी गरीबको सेवा गर्छु भन्ने सपना थियो तर घरको आर्थिक अवस्था कमजोर हुँदा उक्त सपना पूरा हुन सकेन ।
मैले कक्षा ८ सम्म नेवारेसम्म पढें । त्यसपछि नेपालगन्ज गएर १० सम्म पढें । त्यहाँ हजुरआमाको घरमा बसेर पढ्थें । किशोर अवस्था मेरो अरुको जस्तो भएन । बिहान–साँझ घरको काम गरेर नै स्कुल जानुपथ्यो । वि.सं. २०५६ सालमा मैले एसएलसी उत्तीर्ण गरें । नतिजा आएको भोलिपल्टदेखि नै म सेन्टमेरिज बोर्डिङ स्कुलमा पढाउन सुरु गरें । १६ वर्षको थिएँ त्यस बेलामा । अहिलेसम्म शिक्षण पेसालाई निरन्तरता दिइरहेको छु । शिक्षण पेसासँगै पढाइलाई पनि अघि बढाएँ । सोसलोजिबाट स्नातकोत्तर गरें । कानुन विषयमा एलएलसीको सम्म पढें । म कक्षा १२ मा पढ्दै गर्दा बुबाको पनि मृत्यु भयो । त्यसपछि हामी चार दिदीबहिनी मात्र भयौं ।
केही समाजिक संघ–संस्थाहरूमा पनि आवद्ध छु । सुर्खेत महिला जेसीज, लायन्स क्लब अफ सुर्खेत भ्याली, विपसेना ध्यान शिविर केन्द्रको सदस्य, एम्नेष्टी इन्टरेशनल, नेपाल मन्टेश्वरी एशोशियनस कर्णाली प्रदेशको संयोजक भएर पनि सामाजिक कार्यहरूमा आवद्ध भइरहेको छु ।
विदेश जाने सोचले क्यानाडाको भिसा लगाएको थिएँ । भिसा पनि आएको थियो । त्यसैबेलाम बहिनी प्रतिक्षाको मृत्यु भयो । त्यसपछि प्रभा दिदीले मलाई विदेश जान दिनुभएन । बुबा–आमा हुनुहुन्न । चार बहिनीमा एक बहिनीको मृत्यु भयो । अर्को बहिनी विदेश पठाउन्न भनेर दिदीले रोक्नुभयो । त्यसपछि हामीले यही के गर्ने योजना बनायौं र वि.सं. २०६६ सालमा प्रतिक्षा बहिनीको सम्झनामा प्रतिक्षा मण्टेश्वरीको स्थापना ग¥यौं । म यसको स्थापनाकालदेखि नै प्रिन्सिपल भएर काम गरिरहेको छु । अहिले ३ कक्षासम्म पढाइ हुन्छ । बहिनी प्रतिक्षाकै सम्झनामा प्रतिक्षा मोन्टेश्वररी ट्रेनिङ सेन्टर पनि स्थापना गरेका छौं ।
धेरै ठाउँमा गएर बालबालिको विकासका लागि तालिम दिएको छु । राम्रो नागरिक बनाउनका लागि एउटा राम्रो बच्चा निर्माण गर्नुपर्ने रहेछ । अनि मात्र ऊ भविष्यमा पनि सभ्य नागरिक बन्न सक्छ । यो सबै सम्भव मण्टेश्वरी शिक्षाबाट छ । हामीले जुन कुरा ठूलोलाई सिकाउन सक्दैनौं । त्यो सानोलाई सिकाउन सक्छौँ । सानो छँदै गलत र सही छुट्याइदिने हो भने पछि भविष्यमा सहि मार्गमा हिँड्छन् । मैले सबै मेरो दिदीको प्रेरणाबाट पाएको हुँ । उहाँले सिकाएको संस्कारले नै आज म यो स्थानमा छु । अहिले म प्रत्येक बालबालिका हामी भन्दा पनि राम्रो हुनुपर्छ भनेर लागिरहेको छु ।

प्रकाशित मितिः   २९ आश्विन २०७५, सोमबार १२:१३