प्रदेशसभा बैठक दुई साता स्थगित

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ असोज ।
कर्णाली प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले रातो किताब मागेपछि अवरुद्ध सदन सञ्चालन हुन सकेको छैन । करिब दुई महिना स्थगित भएर सञ्चालनमा आएको प्रदेश सभा बैठक पुनः दुई हप्ता पछाडि धकेलिएको छ ।
आगामी कार्तिक ११ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार सूचना टाँस गरी कार्तिक ११ गते दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । शुक्रवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले दशैंपछि सदन सुरु गर्ने सहमति गरेको हो ।


यसअघि गत साउन २५ गतेदेखि ‘विजनेश’ अभावले स्थगित भएको सदन दुई महिनापछि असोज २३ गते सञ्चालनमा आएको थियो । तर प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले रातो किताबको माग गर्दै संसद अवरुद्ध गरेपछि स्थगित भएको बैठक फेरि बस्न नसकेरै कार्तिक ११ गतेसम्मलाई स्थगित गरिएको छ । सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्दा पछिल्लो समयमा प्रदेश सभा बैठक सुस्त देखिएको छ । सरकार सञ्चालनका लागि आवश्यक कानुन अभाव भएका बेला कानुन बनाउने प्रदेश सभा नै पटक–पटक स्थगित हुने गरेको छ ।
प्रतिपक्ष दल नेपाली कांग्रेसले विगत तीन महिनादेखि सरकारसँग चालु आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजित बजेट समेटिएको रातो किताब माग गरेको छ । तर, विषयगत मन्त्रालय बजेट बाँडफाँडमा अल्झिएकाले रातो किताब तयार हुन सकेको छैन । भौतिक पूर्वाधार विकासको जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले समेत योजनागत रूपमा बजेट बाँडफाँड गर्न सकेको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग प्रस्ताव गरेको योजना नै स्वीकृत भएका छैनन् । मन्त्रालयले प्रष्ट रूपमा बजेट विनियोजन नगर्दा कार्यक्रम स्वीकृत नभएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आवमा सञ्चालन गर्ने कार्यक्रम र बजेट प्रष्टै खुलाएर पुनः प्रस्ताव गर्न अर्थले प्रस्तावित योजना नै फिर्ता गरेको छ ।
मन्त्रालयका योजना र बजेट अर्थले स्वीकृत नगर्दा रातो किताब निर्माणमा ढिलाइ भएको हो । कर्णालीको विकासका लागि सरकारले तीव्र रूपमा काम गरेको दाबी गर्दै आए पनि बजेट कार्यान्वयनदेखि कानुन निर्माणमा सुस्त देखिएको छ । प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने महŒवपूर्ण कानुन निर्माण हुन बाँकी नै छ । पर्याप्त कानुन नहुनु नै विकास निर्माण र बजेट कार्यान्वयनमा चुनौती र समस्या भएको जनाउँदै आएको सरकारले नै गति लिन नसकेको आरोप प्रतिपक्ष दल नेपाली कांग्रेसले लगाउँदै आएको छ ।
प्रतिपक्ष दल र सत्ता पक्षबीच सहमति नजुट्दा सदन सरेको प्रदेश सभा सचिवालयले जनाएको छ । पटक–पटक कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्ष र सत्तापक्षबीच सहमति नजुटेपछि बैठक आव्हान गर्न नसकिएको प्रदेश सभामुख राजबहादुर शाहीले बताए ।
‘रातो किताब, प्रदेश सभा सदस्यहरूको सेवा–सुविधा लगायतका माग प्रतिपक्षले उठाउँदै आएका छन्’ उनले भने, ‘सरकारप्रति असन्तुष्टी बढेपछि बैठक सरेको हो ।’ उनले प्रतिपक्षको विरोधकाबीच सभा सञ्चालन गर्न नसकिने बताए । रातो किताबका सन्दर्भमा विषगत मन्त्रालयले बेवसाइटमार्फत् सार्वजनिक गरेको बताउँदै आएको छ ।
सांसदहरूले सेवा–सुविधा सम्बन्धी विधेयकमा सहयोगी व्यवस्था हुनुपर्ने माग राखेका छन् । सरकारले पेश गरेको विधेयकमा सहयोगी पाउने व्यवस्था छैन । हाल प्रदेशसभा सचिवालयमा दर्ता हुन बाँकी रहेको उक्त विधेयक संशोधन हुनुपर्ने सांसदहरूको मागका कारण अलपत्र परेको छ । सदन अवरुद्ध हुने क्रम बढेपछि सरकार पनि लचक बनेको छ । प्रतिपक्षी दलले रातो किताब ल्याउनुपर्ने अडान राखेपछि सरकार त्यसको तयारीमा जुटेको छ । रातो किताब ल्याएर संसद सञ्चालन गर्ने तयारी सरकारको छ ।

प्रकाशित मितिः   २७ आश्विन २०७५, शनिबार १६:५६