‘विकासमा प्रतिबद्ध छु’

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ असोज ।
सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावतले जिल्लाको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित दशैं तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा सांसद रावतले जिल्लाको विकासका लागि संघीय संसदमार्फत् सरकारलाई ध्यानाकर्षण गराउँदै आएको बताए ।
‘नागरिकका समस्या समाधानका लागि सदनमार्फत् सरकारलाई दबाब दिइरहेको छु’ चुनावताका गरेको प्रतिबद्धता सम्झिदै उनले भने, ‘प्रदेश राजधानीका रूपमा रहेको सुर्खेतमा सडक, विद्युत, सञ्चार लगायतका क्षेत्रको विकासका लागि सरकारसँग समन्वय गरेको छु ।’ उनले चालु आर्थिक वर्षमा सरकारले स्थानीय तहमा दिने सशर्त अनुदान कम भए पनि सही ढङ्गले खर्च गर्न आग्रह गरे । आगामी आर्थिक वर्षमा सशर्त अनुदानमा वृद्धि हुने भन्दै उनले आगामी पाँच वर्षमा जनताले अभाव झेल्नु नपर्ने बताए ।
जिल्लाका ठूला विकास आयोजना बेतन–कर्णाली जलविद्युत आयोजना, चौकुने सिमेन्ट उद्योग, पश्चिम सुर्खेतको ग्रामीण सडक, काँक्रेविहार, बुलबुले, देउतीबज्यै, वीरेन्द्रनगरको चक्रपथ, भेरी लिफ्टिङ्ग सिँचाइ आयोजना लगायतका जिल्लाका गौरवशाली आयोजनाले गति लिने
बताए । जिल्लाबासीका समग्र समस्याबारे सदनमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । १३२ केभीए विद्युत प्रशारणलाइन, पश्चिममा वन विज्ञान क्याम्पस सञ्चालन लगायत जिल्लाका सुकुम्बासी समस्या समाधानका लागि केन्द्र सरकारलाई दबाब दिँदै आएको बताए । उनले बाढीपीडित समस्या र सुकुम्बासी समस्या आगामी एक वर्ष भित्रै अन्त्य हुने बताए ।

प्रकाशित मितिः   २७ आश्विन २०७५, शनिबार १६:४६