राउटेले पाए दशैं खर्च
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ असोज ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । दैलेखबाट बसाइँ सरेर सुर्खेतको लेकवेशी नगरपालिका–९ साटाखानी बस्दै आइरहेका उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले असोज महिनाको सामाजिक सुरक्षा भत्ता शुक्रवार साटाखानी पुगेर वितरण गरेको हो ।
गाउँपालिकाले ४२ घरका एक सय ४८ जनालाई दुई हजारका दरले भत्ता वितरण गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । दशैैं खर्च हुने भएकाले यो महिनाको सामाजिक सुरक्षा भत्ता छिट्टै वितरण गरिएको अध्यक्ष ओलीले बताए । राउटेलाई गुराँस गाउँपालिकाले नै परिचय–पत्र समेत दिएको थियो । परिचय–पत्र दिएसँगै गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।
गाउँपालिकाकाले दिएको पैसाले दशैं खर्चको व्यवस्थापन गर्ने राउटे मुखिया सूर्यनारायण शाहीले बताए । ‘दशैं आएको छ । दशैंका लागि चामल किन्छौं’ उनले भने, ‘यो पैसा दशैं खर्च हुन्छ । दशैं मनाउन अब सजिलो हुने भयो ।’
गाउँपालिकाले राउटेहरूलाई परिचय–पत्र असारको महिना परिचय–पत्र दिएको थियो । तर राउटेहरूले परिचय–पत्र त्यागिसकेका छन् । उनीहरूले परिचय–पत्र विना नै सामाजिक सुरक्षा भत्ता बुझेका छन् । यस भन्दा अघि राउटे समुदाय गुराँस गाउँपालिकामा बस्दै आएका थिए । उनीहरू भर्खरै मात्र सुर्खेतको लेकवेशीमा आएका हुन् । आफूहरूसँग परिचय–पत्र हुँदा सिकार नमरेको भन्दै उनीहरूले परिचय–पत्र फालेको मुखिया शाहीले बताए ।
अर्कोतर्फ राउटेहरूको एक टोली भने दशैं खर्च जुटाउन भन्दै काठमाडौं पुगेको छ । मुखिया हरिबहादुर शाहीसहितको टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं हिँडेको हो । तर काठमाडौं पुगेर पनि उनीहरूले प्रधानमन्त्रीसँग भेट्न भने पाइरहेका छैनन् । प्रधानमन्त्रीलाई भेट्न धेरै प्रयास गरे पनि उनले समय नदिएको मुखिया शाहीले बताए ।
साझा बिसौनी संवाददाता ।