मनपरी भाडा वृद्धि

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ असोज ।
दशैं लागेसँगै जुम्लामा यातायात व्यवसायीले मनपरी भाडा उठाउन थालेका छन् । साविकको भाडादर भन्दा ३५ प्रतिशत वृद्धि गरेपछि दशंैका लागि जाने आउनेलाई निकै सास्ती भएको छ ।
भाडादरमा भएको वृद्धि नियन्त्रण गर्न माग गर्दा समेत सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । प्रशासनले मुकदर्शक भएर हेरेको यात्रुको गुनासो छ । प्रशासनले विशेष भूमिका खेलेर यातायात सेवालाई सहज बनाउने अपेक्षा राखेका यात्रुले प्रशासनको लापरबाही देखेर आक्रोशित भएका छन् ।
डिजेलको मूल्य बढेको भन्दै छोटा तथा लामो दूरीका सवारी साधनले ३५ प्रतिशत गाडी भाडा वृद्धि गरेका छन् । कर्णाली यातायात कार्यालयका अनुसार इन्धनमा भएको मूल्य वृद्धिले सरकारले १० प्रतिशत भाडादर बढाइएको हो । तर, टिकट काउण्टर भन्दा बाहिर गाडी चढ्ने यात्रुहरूले तोकिएको भन्दा महँगो भाडा तिरेकोप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । १० प्रतिशत बढाएकोमा ३५ प्रतिशत बढाउनु गैरकानुनी काम भएको ठहराइएको छ ।
त्यस्तै, जुम्लादेखि कुडारीसम्म जानको लागि बसपार्कमा पुगेका यात्रु नरेन्द्र शाहीले
भने, ‘जुम्लाको यातायात सेवा निकै अस्त–व्यस्त छ, यो राम्रो पक्ष होइन ।’ उनले कुडारीसम्मको लागि यो भन्दा पहिले दैनिक ९५ रूपैयाँ तिर्दै आएका थिए । तर, हाल एक्कासी एक सय तीस रूपैयाँ तिर्न पर्दा दंग भएको बताउँछन् । गाडीवालाहरूले तोकिएको भाडादरको बारेमा जानकारी समेत नगर्ने, उल्टै झपारेर मनपरी भाडा असुल्ने गरेको शाहीको गुनासो छ । १० प्रतिशत भाडा वृद्धि भएको थाहा हुँदा–हुँदै आवश्यकता परिपूर्तिका लागि भनेकै अनुसार दोब्बर भाडा दिन बाध्य छन्, जुम्लाबासी ।
जुम्लामा सञ्चालन हुने यातायात समितिका काउण्टर एकै ठाउँमा राखेर यात्रा गर्न पाउने वातावरण स्थानीय प्रशासनले गर्नसकेको छैन । ‘यात्रुका लागि विडम्बना नै यही हो’ शाहीले भने ‘यातायात समितिबीचको समन्वय प्रभावकारी नहुनु, प्रतिस्पर्धाका नाममा मनपरी भाडा असुल्नु ठीक होइन ।’
तिलागाउँपालिका–५ का नरेन्द्र शाही एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै कुडारी, नाग्मा, सिंजा लगायतका विभिन्न ठाउँमा यात्रा गर्ने सयौं यात्रुहरूको गुनासो पनि उस्तै रहेको छ । जुम्लामा फरक–फरक ठाउँमा काउण्टर राखेर यातायात सेवा सञ्चालन गर्दा यात्रु ठगिने गरेका छन् ।
कर्णाली राजमार्गको सुर्खेत, जुम्ला, नेपालगन्ज, काठमाडौं चल्ने दर्जन भन्दा बढी यातायात समिति छन् । तर, उनीहरूको काउण्टर खलंगा बजारमा छरिएर राखिएका छन् । यातायात सेवा लिनदेखि काउण्टर भेटाउन नै यात्रुलाई कठिन हुने गरेको छ । जुम्लामै कर्णाली यातायात समिति र चन्दननाथ यातायात प्रालि मात्रै दर्तामा छन् । बाँकी समिति बाहिर जिल्लामै दर्ता भएर सेवा सञ्चालन गरिरहेका छन् । दर्ता नभएका सबै यातायात समितिले काउण्टरै पिच्छे फरक–फरक भाडा लिने गरेको यात्रुको भनाइ छ ।
यता सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले तोकिएको मापदण्ड भन्दा बढी भाडा लिएको प्रमाण भेटिएमा कडा भन्दा कडा कारबाही हुने चेतावनी दिए । उनले भने ‘नागरिकहरूको गुनासोलाई मध्यनजर गर्दै ट्राफिक कार्यालयमार्फत् भाडाको विषयमा कडा निगरानी गरिने छ ।’