आमा र मातृभूमिको सम्मानमा साइकल यात्रा
सिम्ता गाउँपालिका–३ आग्रीगाउँका बालकृष्ण शाही वि.सं. २०५६ साल पुस २५ गते जन्मिएका हुन् । अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा शिक्षा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत बालकृष्णको बाल्यकाल संघर्षपूर्ण रह्यो । जन्मदा बुबाको माया उनले पाएनन् । तर पनि संघर्ष गर्दै सफलताको लागि बालकृष्ण हिँडिरहेका छन् । पछिल्लो समय बालकृष्णलाई साइकल यात्री पनि भनेर चिनिन्छ । भविष्यमा कुशल उत्प्रेरक बन्ने सपना देखेका बालकृष्णले आफ्नो कलेज लाइफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाएः
मामाघरमा हुर्किएँ
मेरा बुबा र आमाबीच प्रेम भएछ तर विवाह भएन । म जन्मिएँ, बुबाले आमालाई छोडेर भाग्नुभएछ । बुबाले छोडेपछि आमाले अर्को ठाउँमा विवाह गर्नुभयो ।
म मामाघरमा हुर्किएँ । गाउँ–समाजले र साथीहरूले विना बाउको छोरो भनेर हेप्थे । त्यो बेलामा मलाई दुःख लाग्थ्यो । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय आग्रीगाउँमा पढेको हुँ । म सानैदेखि एक्लै हिँड्ने स्वभावको थिएँ । आग्रीगाउँमा गोमा रेग्मी म्याडमले नै मलाई पढ्नको लागि साहारा दिनुभयो । प्रेमप्रसाद शर्मा र उहाँको श्रीमती गोमा नै मेरो अभिभावक बन्नुभयो ।
मेरो कलेजको पहिलो दिन
कक्षा ६ देखि भानु उच्च माध्यमिक विद्यालय बजेडीचौर सिम्तामा पढें । त्यहींबाट एसएसलसी उत्तीर्ण गरें । मैले वि.सं. २०७२ सालमा एसएलसी पास गरेको हुँ । म कक्षा आठसम्म कहिल्यै दोस्रो भइनँ । कलेजको पहिलो दिन मलाई अचम्म लाग्यो । त्यसअघि म वीरेन्द्रनगर आएको पनि थिइनँ ।
मैले एसएलसी पास गरेपछि के पढ्ने भन्ने सोचेको पनि थिइनँ । मेरो बुबा हुनुुहुन्न, आमा पनि धेरै नपढेको । के पढ्ने भन्ने थाहा नभए पनि आमाले त धेरै पढ्नुपर्दछ भन्नुहुन्थ्यो । त्यति मात्रै थाहा थियो । मलाई शिक्षा विज्ञान पढ्ने सल्लाह गोमा म्याडमले नै नै दिनुभएको हो । कलेजबाट फर्कंदा केही रमाइलो लाग्यो । किनकी केही आत्मविश्वास पनि बढ्यो । म कलेजबाहेक घरमा धेरै समय पढ्ने गर्दछु । कलेजको बाहेक जीवन र आदर्शका किताबहरू धेरै पढ्ने गर्दछु ।
कलेजको र विद्यालयको पढाइमा धेरै फरक छ । विद्यालयमा सबै चिनेको साथीहरू हुन्छन् । तर कलेजमा नयाँ साथीहरू अप्ठ्यारो हुने रहेछ । शिक्षकहरूले विद्यालयमा पढाउने शैली र कलेजमा पढाउने शैली फरक छ । कलेजको सबै भन्दा राम्रो पक्ष भनेको धेरै साथीहरूसँग चिनजान हुनेहुन्छ र एकअर्कालाई चिन्ने मौका पाइन्छ । तर कलेजको खासै नराम्रो पक्ष छैन ।
म फिल्म खासै हेर्दैन । हलमा एकदिन मात्रै गएको छु त्यो पनि बिदामा । अहिले पनि मलाई प्रेमको आभाष भएको छैन । प्रेम पनि गरेको छैन । सानेदेखि पीडामा बाँच्न सिकेको मान्छे प्रेम गर्न जानेको छैन । तर मेरो आमाको लागि जे पनि गर्न सक्छु ।
कुशल उत्प्रेरक बन्ने सपना छ
मेरो प्रेरणा आमा, मामाघरको हजुरबुबा–हजुरआमा र मेरो मामाहरू अनि गोमा म्याडमको नै हो । उच्च शिक्षाको लागि मामाहरूले नै सहयोग गरेर वीरेन्द्रनगर पठाउनुभएको हो । मलाई एसओएस बालग्राम सुर्खेतले सहयोग गरेको छ । अमरज्योति नमुना माध्यमिक विद्यालयमा पनि छात्रवृत्तिमा पढेको छु । मेरो आमाले अरुको काम गरेर मलाई पढाउनु भएको छ ।
म कक्षा ११ को परीक्षा दिएर कमाउनको लागि भारत गएको थिएँ । घरको आर्थिक स्थिति पनि राम्रो थिएन । मैले १८ वर्षको उमेरमा वि.सं. २०७४ साल माघमा मेरो बुबाको अनुहार देखेको हुँ । तै पनि मलाई स्वीकार्नु त भएन जबरजस्ती नागरिकता दिनुभयो ।
आमाले अरुको भारी बोकेर कमाएको पैसाले मलाई पढ्न पठाउनुभयो । उहाँलाई राहत होस् भनेर म भारत गएँ । मैले त्यहाँ पनि धेरै दुःख पाएँ । काम गर्दै गर्दा मेरो मनमा साइकलयात्री बन्ने कल्पना आयो जो नेपाल आमा र मेरी आमाको सम्मानको लागि थियो । मैले भारतका मुम्बई, ताजमहल लगायत नेपालको केही स्थानमा साइकल यात्रा गरी हिँडेको छु । मेरो भविष्यको लक्ष्य म असल अभ्यासको प्रशिक्षक हुनसक्ने क्षमता म मा छ । त्यसको लागि म अध्ययन खुब गर्ने गर्छु । युवाहरूलाई उत्प्रेरणा दिनको लागि पनि यो यात्रा तय गरेको हुँ ।
गाउँ–समाजमा म बिनाबाउको छोरो र गरीब भनेर चिनिएको छु । यस्तो व्यक्तिले पनि केही गर्न सक्दा रै’छन् भने मैले किन नगर्ने भन्ने उत्प्रेरणा युवाहरूमा आ–ओस् भनेर मैले साइकल यात्रा गरेको हुँ । नैतिक शिक्षा सिकाउनको लागि पनि मेरो यात्रा तय भएको हो ।
मेरो जीवनको लक्ष्य भनेको मोटिभेसनल कोच बन्नेछ । बाटो बिराइरहेको मान्छेहरूलाई नैतिक शिक्षा दिएर सहीमार्गमा ल्याउन सक्ने क्षमता म मा छ । जीवनबाट हारेका मान्छेहरूलाई उत्प्रेरणा दिने लक्ष्य छ । उत्प्रेरकको रूपमा स्थापित हुन चाहन्छु । सबैको आ–आफ्नो लक्ष्य होलान् तर सबैको साझा लक्ष्य राष्ट्र बनाउनका लागि हुनुपर्दछ । मेरो भविष्यको लक्ष्य कुशल उत्प्रेरक बन्नेछ । मैले अहिलेदेखि नै जग बसालेको छु ।
साझा बिसौनी संवाददाता ।