प्रहरी–नागरिक सहकार्यमा जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अपराधमुक्त समाज निर्माण गर्न प्रहरीलाई साधन र स्रोत सम्पन्न बनाइने बताएका छन् । ६३ औं प्रहरी दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् ।
उनले समाजका विभिन्न किसिमका अपराधजन्य घटनाहरू दिन प्रतिदिन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरीको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले प्रहरीलाई साधन र स्रोत सम्पन्न बनाउन सकेको खण्डमा मात्रै आपराधिक घटनाहरू न्यूनीकरण गर्न सकिने बताए । यसका लागि राज्यले ध्यान दिनुपर्ने र कर्णाली प्रदेश सरकार पनि गम्भीर रहेको उनको भनाइ थियो । ‘अहिले सबै क्षेत्रमा परिवर्तनहरू भइरहेका छन्’ उनले भने, ‘यो प्रविधिको युगमा ती पुरानै विधि र प्रविधिले अपराध नियन्त्रण हुन सक्दैन ।’
कर्णाली प्रदेश प्रहरीलाई साधन र स्रोतले सम्पन्न बनाउनका लागि प्रदेश सरकार गम्भिर रहेको मुख्यमन्त्री शाहीको जिकिर थियो । ‘हामीले यहाँका प्रहरी कार्यालयहरूको भौतिक पूर्वाधार निर्माणदेखि क्षमता अभिवृद्धिका लागि पनि बजेट विनियोजन गरेका छौं’ शाहीले भने, ‘प्रहरीलाई बलियो नबनाइकन समाज अपराधमुक्त हुन सक्दैन, त्यसैले हामी यसबारेमा गम्भीर छौं ।’
समाजमा विभिन्न आपाराधिक घटनाहरू बढ्दै गएको र यसको न्यूनीकरणका लागि जनताले प्रहरीलाई साथ दिनुपर्ने उनको धारणा थियो । उनले भने, ‘महिला हिंसा, बलात्कार तथा चोरी डकैतीका घटनाहरू बढ्दै गएका छन् । लागू औषध दुव्र्यसनीका कारण युवा कुलतमा फसेका छन् । यसमा हामी सबै सचेत हुनु जरुरी छ ।’ शाहीले अपराधमुक्त समाज बनाउन राज्य, प्रहरी र नागरिकबीच सहकार्य हुनुपर्ने बताए ।
मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महŒवपूर्ण भएको भन्दै मुख्यमन्त्री शाहीले अमर प्रहरीप्रति सम्मानसमेत व्यक्त गरे । कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरीहरूलाई सम्मान गर्नुका साथै अमर प्रहरीका बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो ।

प्रकाशित मितिः   २६ आश्विन २०७५, शुक्रबार १५:३६