शंकाको घेरामा पर्यटन वर्षको खर्च
सुर्खेत, २४ असोज । (साबिस)
कर्णाली प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा गरिएको खर्चको विवरण माग गरेको छ । बुधवार बसेको समितिको बैठकले १५ दिनभित्र खर्च विवरण बुझाउन सरकारलाई निर्देशन दिएको हो ।
सरकारले यसअघि प्रदेश सभामा उक्त विवरण पेश गरेको थियो । तर, समितिले पारदर्शी रूपमा खर्च विवरण सार्वजनिक नभएको भन्दै आधिकारिक र प्रष्ट रूपमा पेश गर्न १५ दिने अल्टिमेटम दिएको समितिका सदस्य गुलाबजंग शाहले जानकारी दिए ।
प्रदेश सरकारले गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गरेको थियो । संसदमा पेश खर्च विवरण अनुसार पर्यटन वर्ष उद्घाटनमा मात्रै ६३ लाख ८१ हजार रूपैयाँ खर्च भएको छ । उक्त विवरण पारदर्शी नभएको समितिको ठहर छ ।
समितिले आर्थिक वर्ष २०७४÷०७५ को योजना र खर्च विवरणसमेत माग गरेको समितिको अध्यक्षता गरिरहेका दिनबन्धु श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा विनियोजित बजेट मध्ये पहिलो चौमासिकमा भएको खर्च विवरण र सार्वजनिक खरिद ऐन अनुसार भएको छ वा छैन भन्नेबारेमा सरकारलाई विवरण पेश गर्न निर्देशन दिइएको हो । ‘सरकारले कुन योजनामा, के, कति खर्च ग¥यो सम्पूर्ण विवरण माग गरिएको छ’ उनले भने, ‘बेथितिलाई थितिमा बसाल्न समितिले काम थालेको छ ।’ समितिको चौथो बैठकले ‘कर्णाली प्रदेश सार्वजनिक लेखा समितिको आन्तरिक कार्यविधि–२०७५’ समेत पारित गरेको छ ।
साझा बिसौनी ।