‘नेतृत्वका कारण एकतामा ढिलाइ’

सुर्खेत, २४ असोज । (साबिस)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी नेतृत्वकै कारण स्थानीय तहसम्मको एकताले पूर्णता पाउन नसकेको बताएका छन् । बुधवार वीरेन्द्रनगरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रमा पार्टी एकता प्रक्रियामा गएको एक वर्ष बितिसक्दा पनि जिम्मेवारी सम्हालेका नेताहरूले काम नगर्दा तल्लो तहसम्म एकतामा ढिलाइ भएको बताएका हुन् ।
‘तल्लो तहमा पार्टी एकतामा ढिलाइ भएको छ, यसमा म आत्मालोचना गर्न चाहन्छु’ नेकपाको कर्णाली प्रदेश इचार्जसमेत रहेका शर्माले भने, ‘पार्टी कमिटीका बैठकहरू बोलाउने र स्थगित हुने क्रम बढ्दै गएको छ, यो कुनै समस्या र जटिलताका कारण होइन, नेतृत्वले समय नदिएर हो ।’ पार्टीको निर्णायक जिम्मेवारी अध्यक्षहरूलाई भएको भन्दै उनले नेतृत्वले समय दिन नसक्दा स्थानीय तहसम्म एकता प्रक्रिया अघि बढ्न नसकेको बताए । केन्द्रमा पार्टी एकता भए पनि स्थानीय तहमा कार्यकर्ताहरू एक हुनसक्ने अवस्था नरहेको बताए ।
‘नेतृत्वले पार्टी एकता भएको घोषणा गरे पनि विविध कारणले संगठनात्मक संरचनाहरू तल्लो तहसम्म एकता प्रक्रिया पुगेको छैन’ उनले भने, ‘त्यसकारण पनि दुईतिहाई बहुमतको सरकार कमजोर भएको छ, बजेट तथा कार्यक्रमहरू स्थानीय स्तरसम्म कार्यान्वयनमा आउन सकेका छैनन् ।’ उनले कर्णाली प्रदेशको विकासमा सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । कर्णालीको समृद्धिका लागि तीन तहका सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उनले बताए ।
पार्टीका प्रदेश कमिटीका सह–संयोजक यामलाल कँडेलले दुई पार्टीहरूबीच एकता प्रक्रिया जाँदा समय लाग्नु स्वभाविक भएको बताए । जनताहरू निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले विकास र समृद्धिका लागि सहयोग गर्न आग्रह गरे । प्रतिनिधि सभा सदस्य नवराज रावतले स्थानीय तहसम्मको पार्टी एकतालाई मुख्य चासोका रूपमा नेतृत्वले लिनुपर्ने बताए । उनले बहुमत प्राप्त सरकारले श्रमजीवि र सर्वहारा वर्गका लागि काम गर्नुपर्ने बताए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले संयुक्त रूपमा वीरेन्द्रनगरमा गरेको शुभकामना आदान–प्रदान
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २५ आश्विन २०७५, बिहीबार १६:१५