महसुल तिर्न २४ घण्टे अल्टिमेटम

जगतदल जनाला बिक
पञ्चपुरी, २४ असोज ।
पञ्चपुरी नगरपालिकाको बावियाचौरमा रहेको खमारीखोला लघु जलविद्युत आयोजनाले विद्युत महसुल तिर्नका लागि २४ घण्टे अल्टिमेटम दिएको छ । अझै पनि विद्युतको शेयर, महसुल लगायतका आर्थिक हिसाब नबुझाएका उपभोक्ताहरूलाई २४ घण्टाभित्र महसुल तिर्न अल्टिमेटम दिएको हो ।


आयोजना सञ्चालक समितिका नवनियुक्त अध्यक्ष जीवन ढुङ्गानाले २४ घण्टाभित्र महसुल नबुझाएमा विद्युत लाइन काट्ने चेतावनीसमेत दिए । सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भए लगत्तै ढुङ्गानाले यस्तो चेतावनी दिएका हुन् । उनले प्रत्येक हप्तामा खर्च र आम्दानीको हिसाब गरी बैंक खातामा जम्मा गरिने र कर्मचारीहरूले पनि आफ्नो समय सीमाभित्र काम नगरेमा कारबाहीको दायरामा ल्याउने बताए ।
यसैबीच ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा छविलाल खड्का, सचिव गंगाराम बिसी, कोषाध्यक्षमा चन्द्रबहादुर कठायत चयन भएका छन् । यस्तै सदस्यहरूमा कर्णबहादुर रेगामी, भक्तिराम कँडेल, शेरबहादुर सार्की, शोभा तारामी, शिवराज घिमिरे, उदय कामी, बलबहादुर सिंजापति रहेका छन् ।
यस्तै लेखासमिति संयोजकमा कृष्ण बिसी तथा सदस्यमा रणबहादुर आचार्य र रमेशकुमार कँडेल चयन भएका छन् । असोज ७ गते आयोजना गरिएको साधारणसभा नेतृत्व चयनमा सहमति हुन नसक्दा स्थगित गरिएको थियो । बुधवार निर्वाचन समितिका संयोजक कृपाराम थापाले सर्वसम्मत् चयन भएका पदाधिकारीको नामावली सार्वजनिक गर्दै सपथ ग्रहण गराएका थिए । ५३ किलोवाट लघुजलविद्युत आयोजना वि.सं. २०७० सालबाट सञ्चालनमा ल्याइएको थियो । उक्त आयोजनाबाट पञ्चपुरीका एक हजार एक सय घरधुरी लाभान्वित भएका छन् ।