अहिलेकै सरकारमा सबै समेटिन्छन : विष्ट
सुर्खेत, २८ जेठ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बाहिर रहेका दलहरुलाई पनि समेटेर अहिलेको सरकारलाई राष्ट्रिय सहमतिसहितको सरकार बनाउनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार परिवर्तनको हल्ला चलेपनि त्यसको कुनै गुञ्जायस छैन’ विष्टले भने, ‘राष्ट्रिय सहमतिको सरकारको आवश्यकता त छ तर प्रधामन्त्री परिवर्तन गरेर होइन अहिलेकै सरकारमा सबैलाई समेटेर बनाउनुपर्दछ ।’ उनले अहिले सरकार परिवर्तनको खेलमा लाग्ने नभई सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने र जनताका समस्या समाधान गर्नुपर्ने समय भएकाले सबैलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गरे । नेकपा माओवादी केन्द्रसँग भएको भनिएको ‘भद्र सहमति’ बारे एमाले सचिव विष्टले भने, ‘नेतृत्व परिवर्तन गर्न होइन, यही सरकारलाई जनचाहना वमोजिम सञ्चालन गर्नेबारे भएको हो ।’ संविधानको कार्यान्व्यन, जनताका चाहना पूरा र बजेटको कार्यान्वयनका लागि एमाले पूर्ण प्रतिवद्ध रहेको धारणा राख्दै उनले तत्काल सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताए ।
साझा बिसौनी संवाददाता ।