मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी
सुर्खेत, २७ जेठ ।
वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। विश्वविद्यालयले आफ्ना मागको सुनुवाई नगरेको भन्दै अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन्।
विभिन्न माग राख्दै जेठ २३ गतेदेखि रिलेअनसन सुरु गरेका विद्यार्थीहरुले बिहीवार केन्द्रीय कार्यालयमा अनिश्चितकालका लागि ताला लगाएका हुन्। १३ वटा माग राखेर अन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीले माग पूरा नभएपछि तालाबन्दी गरिएको जनाएको छ।
अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय समितिले विश्वविद्यालयले वर्षेनी बृद्धि गर्ने १० प्रतिशत शुल्क खारेज गर्नुपर्ने, ६ महिनादेखि रिक्त रजिस्ट्रार नियुक्त गर्नुपर्ने र इन्जिनियरिङ्ग संकायको शुल्क फिर्ता हुनुपर्ने माग गरेको छ।
त्यसैगरी समावेशीरुपमा कर्मचारी र शिक्षकको विज्ञापन गर्नुुपर्ने र सेवा आयोगलाई प्रभावकारी बनाउनुपर्ने लगायतका मागहरु क्रान्तिकारीले राख्दै आएको छ।
लामो समयसम्म पनि माग पूरा नभएपछि तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका मप विश्वविद्यालय इन्चार्ज राजेन्द्र बुढाले बताए।
यसअघि क्रान्तिकारीले ज्ञापनपत्र बुझाउनुका साथै विश्वविद्यालय परिसरमा अनशन बसेर आन्दोलन गर्दै आएको थियो। त्यतिगर्दा पनि माग पूरा नभएपछि क्रान्तिकारीले आउँदो असार १ गतेबाट विश्वविद्यालय पदाधिकारीहरुका सवारी साधन चल्न नदिने चेतावनी दिएको छ।
स्थापना भएको ६ वर्षको अवधीमा यो विश्वविद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीहरुले विभिन्न माग राख्दै महिनैपिच्छे आन्दोलन गर्ने छन्।
प्रकाशित मितिः २७ जेष्ठ २०७३, बिहीबार ०६:५३
साझा बिसौनी संवाददाता ।