रातभर जाग्राम बसेर काठ बरामद
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ जेठ ।
जिल्ला वन कार्यालय सुर्खेतले ५४ क्यूफिट काठ बरामद गरेको छ । जिल्ला वन र इलाका वन कार्यालय छिन्चुका कर्मचारीहरूको टोलीले बुधवार लेखपराजुल–२ मोहटीबाट सालको चिरान काठ ७९ थान बरामद गरेको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्टका अनुसार वन कर्मचारीहरूले मंगलवार रातभर मोहटीमा जाग्राम बसेर अवैध काठ बरामद गरेको हो । तस्करहरूले ट्युब प्रयोग गरेर काठ भेरी नदी तारिरहेको अवस्थामा वन कर्मचारीहरूले फेला पारेका थिए । यद्यपि तस्करहरू भने काठ छोडेर भाग्न सफल भएको अधिकृत विष्टले जनाए ।
वन अधिकृत विष्टले जिल्लामा काठ तस्करी हुने प्रमुख नाकामध्ये यो पनि एक भएको भन्दै वन कार्यालयले विशेष निगरानीमा राखेको बताए । ‘हामीले पटक–पटक नदी तार्न प्रयोग हुने ट्युबसहित पक्राउ गरेका छौं तर पनि तस्करी रोकिएको छैन’ विष्टले भने, ‘रातको समयमा गस्ती गरेर भएपनि तस्कर पक्राउ गर्न हाम्रो अभियान जारी छ ।’ जिल्ला वन कार्यालयले पछिल्लो समय धमाधम काठ पक्राउ गर्दै आएको छ ।
साझा बिसौनी संवाददाता ।