मेनकाको संघर्ष कथा
कोही मानिसको जिन्दगी यस्तो हुन्छ, उसलाई देख्ने मानिसहरूले भनिदिन्छन्, ‘विचरा यति राम्रो मान्छेको यत्ति नमिलेको ।’
अनि कोही अरु मानिस थपिदिन्छन्, ‘के गर्नु उसको भाग्यमा लेखेको यही थियो होला, त्यही भोग्दै छ ।’
ती सामान्य मानिसहरूले उनै फरक प्रकृतिका मानिसहरूलाई हेर्छन् र मूल्यांकन गर्दछन्, ‘कठै विचरा कस्तो दयालाग्दो जिन्दगी ।’
मानिसका केही शारीरिक अक्षमतालाई भाग्यसँग जोडेर सिङ्गो भाग्यलाई नै दोष दिनेहरू पनि छन् । तर मेनका आचार्यले भने कहिल्यै पनि आफू दृष्टिविहीन हुनुलाई केही मानिसहरूले जस्तो भाग्लाई दोष दिइनन् । बस आफूले पाएको जिन्दगीलाई एउटा परिस्थिति सम्झिइन्, अनि त्यही जिन्दगीलाई खुशीले बाँच्ने प्रयास गरिन् ।
…
वि.सं. २०४३ सालमा सुर्खेतको लेकवेशी नगरपालिका–१ मा बुबा चितानन्द आचार्य र आमा गीतादेवी आचार्यका ६ सन्तानमध्य कान्छी छोरीको रूपमा मेनकाको जन्म भएको हो । उनी जन्मदैदेखि दृष्टिविहीन हुन् । त्यहीदेखि सुरु भएको उनको संघर्ष आजपर्यन्त चलिरहेको छ ।
उनका मामाले दृष्टिविहीनहरूका लागि पढाइ हुने राम्रो विद्यालय छ भन्दै मेनकाकी एक जना दृष्टिविहीन दिदिलाई धनगढी लगेका थिए । दिदीले पढ्ने विद्यालयमै मेनका पनि पुगिन् । उनी पाँच वर्षकि हुँदा दिदीसँगै धनगढी बसेर पढन थालिन् । उनले त्यहाँ ब्रेललिपिको सामान्य ज्ञान प्राप्त गरिन् । करिब एक वर्ष त्यहाँ बसेपछि उनी पढ्नका लागि सुर्खेतकै रामघाटको शिखर माध्यमिक विद्यालयमा पुगिन् । त्यहाँ दृष्टिविहीनहरूका लागि होस्टेलमै बसेर पढ्ने व्यवस्था थियो ।
रामघाटमा दृष्टिविहीनका लागि सहयोग गरिरहेको संस्थाले सहयोग बन्द गरेपछि मेनका दुई वर्षपछि आफ्नै गाउँमा गएर पढ्नुपर्ने भयो । आफ्नै गाउँको विद्यालयमा पढ्नका लागि निकै संघर्ष गर्नुप¥यो । विद्यालयले दृष्टिविहीनलाई कसरी पढाउने भन्दै उनको भर्ना लिन मानेन । उनका अभिभावकले निकै सम्झाए पछि उनी विद्यालयमा भर्ना हुन पाइन् ।
सुरुमा अन्य विद्यार्थीहरूसँग बसेर पढ्न उनलाई निकै असहज भयो । शिक्षकले पढाएका कुरा सबै टिप्न भ्याउँथिनन् । जसले गर्दा उनले अरु विद्यार्थीले जस्तो पढाएको कुरा सबै बुझ्दैन थिइन् ।
न त ब्रेललिपी, न त शिक्षकहरूले उनलाई लक्षित गरेर पढाउने । तर उनले गरेको मेहेनतले १० कक्षासम्मको पढाइ पूरा गरिन् ।
दृष्टिविहीन भए पनि उनले आफ्नो जीवनमा संघर्ष गर्न कहिल्यै छाडिनन्, जीवनलाई सार्थक मोडतिर डो¥याउन उनी दत्तचित्त भइ अगाडि बढिरहिन् । आफ्नो पढाइलाई प्राथमिकतामा राखिन् ।
कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि सदरमुकाम वीरेन्द्रनगरको सुर्खेत क्याम्पस शिक्षामा पुगिन्, मेनका । क्याम्पस गएर पढ्नु र पढेर कक्षा पास गर्नुभन्दा उनलाई क्याम्पससम्म पुग्नु नै उनका लागि चुनौती थियो ।
नयाँ ठाउँ भएकाले उनी गाउँमा जस्तो सहजै हिँड्डुल गर्न सक्दिनथिइन् । वीरेन्द्रनगरको न्यूरोडमा उनको कोठा थियो, त्यहाँबाट शिक्षा क्याम्पससम्म पुग्नु उनको लागि एउटा चुनौती थियो । पढ्न जाउँ भने पनि कसरी जाने, उनका लागि त्यो बाटो बिरानो थियो, अर्कोतिर पढ्न जान नपाएकोमा पीर थियो । उनले ती दिन सम्झिइन्, ‘पढ्न जान नपाउँदा म कोठामै बसेर रुन्थें ।’ भर्खर गाउँबाट सदरमुकाम झरेकी मेनकासँग हिँड्डुलमा सहजताका लागि सेतो छडी पनि थिएन ।
पछि उनी होस्टेलमा बस्ने भएपछि केही सहजता भयो । साथीहरू बढ्दै गए, हिँड्न सहजतामा लागि उनीसँग छडी पनि भयो । त्यसपछि पढ्न जान झन् सहज हुने भयो ।
प्रविणता प्रमाणपत्र तहको पढाइ शिक्षा क्याम्पसबाटै सकेपछि उनी स्नातकमा पनि त्यही भर्ना भइन्, उनको पढाइप्रतिको संकल्प र अथाह मेहेनतले सहजै स्नातक तह पनि उत्तीर्ण गरिन् । पढाइप्रतिको उनको लगाव अविराम छ । स्नातकोत्तरको पढाइलाई अन्तिम चरणमा पु¥याएकी मेनकाले आफ्ना सन्तानलाई धेरै पढाउने आमा–बुबाको ईच्छालाई पूरा पनि गरिन् ।
‘समयले नै जिन्दगीको बाटो देखायो’
‘म त जन्मजात दृष्टिविहीन थिएँ, त्यसैले मैले कहिल्यै पनि यो संसार कस्तो छ देख्न पाएकी छैन, अहिले जे गरीरहेकी छु त्यो सबै अनुभूति मात्र हो’ उनले थपिन्, ‘मैले मेरो बाटो कहिल्यै देखिनँ, समयले नै मैले हिँड्नुपर्ने बाटो देखाइदियो ।’
उनलाई पनि आफैं बाटो निर्धारण गरेर हिँड्न मन छ तर त्यो सम्भव छैन । सम्भव नभएको कुरामा चित्त दुखाएर बस्न नहुने उनले तर्क गरीन् । उनी भन्छिन्, ‘समयले यहाँसम्म ल्याएको छ, अझै कहाँसम्म लैजान्छ, म विना पश्चाताप जिन्दगीको बाटोमा हिँडिरहन्छु ।’
बाबु–आमाका ६ सन्तान मध्य मेनका सहित ४ सन्तान दृष्टिविहीन छन्, सन्तान जस्तो अवस्थामा भए पनि अभिभावकका लागि सबै सन्तानको माया बराबर नै लाग्छ । उनका अभिभावकले पनि सबै सन्तानलाई बराबर व्यवहार गरे । आफ्नो आयस्तरले भ्यायसम्म सन्तानका चाहाना अनुसार पढ्नका लागि साथ दिए । बाआमाले गरेको लगानी र अपेक्षा अनुसार मेनका जस्तै उनका अरु दाई–दिदी पनि निरन्तर पढाइमा सफलता हासिल गरिरहे ।
दृष्टिविहीन हुनुमा केही पीडाहरू पक्कै थिए, ती पिर–चिन्ता क्षणिक हुन्थे, तर पढाई पुरा गर्ने मेनकाको अर्को दृढ ईच्छा थियो । उनको पढ्ने ईच्छा पूरा गर्न त्यो समयमा त्यति सहज थिएन्, सांग विद्यार्थीहरू सँगै बसेर पढ्नुप¥थ्र्यो ।
शिक्षकले कक्षामा दृष्टिविहीन विद्यार्थी छन्, भन्ने थाहा पाएर पनि उनीहरूलाई लक्षित गरेर पढाउन सक्थे अवस्था थिएन्, सानो उमेरबाट नै पढ्नुपर्छ भन्ने ज्ञान प्राप्त भएपछि जति दुःख र पिडाले घेरे पनि उनले आफ्नो हिम्मतबाट कहिल्यै पछि हटिनन्, त्यसको परिणाम हो, उनले हासिल गरेको शिक्षादीक्षा ।
आँखा सापटी लिन मिल्ने भए…
कक्षा १२ को अन्तिम परीक्षा चलिरहेको थियो । स्वभाविक रूपमा दृष्टिविहीनहरूलाई परीक्षामा एक जना सहयोगी चाहिन्छ र उनीहरू सहयोगीको माध्यमबाट परीक्षा दिन्छन् । १२ को अन्तिम परीक्षा दिनका लागि एकजना भाइले सहयोग गरिरहेका थिए तर एउटा विषयको परीक्षा बाँकी रहेको समयमा भाइले परीक्षामा सहयोग गर्न नभ्याउने बताए । त्यसपछि मेनकालाई तनाव भयो, त्यतिबेला दृष्टिविहीनहरूलाई परीक्षामा सहयोग गरिदिनेहरू भेटाउन मुस्किल पथ्र्यो । बल्लतल्ब भेटिएक सहयोगीले यस्तो भनेपछि उनलाई अर्को मानिस कहाँ खोज्ने भन्ने चिन्ता प¥यो । फेरि त्यति छिट्टै अर्को सहयोगी पाईने सम्भावना पनि थिएन, उनले भाइलाई निकै आग्रह गरिन् तर सहयोग मिल्ने छाँटकाँट देखिएन । अन्तिममा त्यो दिनको परीक्षा विशेष कारणले एक दिनपछि सरेपछि ती भाइले नै उनलाई सहयोग गरे । त्यो समयमा उनले एकैछिन आँखा सापटी माग्न मिल्ने भए भन्ने सोचिन् तर आँखा सापटी लिन त सम्भव थिएन ।
संगीतमा अवसर खोज्दै
उनी सानैदेखि गीत सुन्ने गर्थिन् । सँगै गाउने प्रयास पनि गर्थिन् । गाउने रहर थियो, तर गाउनका लागि त्यस्तो ठाउँ भेटाउथिनन् । ब्लाइण्ड केयर सेन्टरले बजारमा ल्याउन लागेको गीत गाउने मौका मेनकाले पाइन् । त्यो अवसर उनका लागि एउटा खुशीको क्षण थियो भने उत्तिकै चुनौती पनि थियो । तर आफूले पाएको मौकालाई मेनकाले सकेसम्मको मेहेनत गरिन्, सुर्खेतमै उनको पहिलो गीत रेकर्ड भयो ।
‘गीत सुन्ने जो जति पनि थिए, सबैबाट राम्रो प्रतिक्रिया आयो’ मेनका भन्छिन्, ‘संगीतमा लाग्ने मेरो पहिलो पाइला त्यहाँनिर प¥यो ।’ उनलाई अझ धेरै गीतहरू गाउन मन छ, नेपाली गीत संगीतको क्षेत्रमा अझै धेरै योगदान दिन मन छ । उनी संगीतका क्षेत्रमा अवसरको खोजीमा छिन् ।
साझा बिसौनी ।