खर्च जुटाउन प्रधानमन्त्री भेट्दै

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ असोज ।
दशैं आउन अझै डेढ हप्ताभन्दा बढी समय बाँकी छ । तर लोपोन्मूख राउटे बस्तीमा भने यतिबेला दशैंको रौनक सुरु भइसकेको छ । दशैंका लागि आवश्यक खर्च जुटाउन आफूलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखिया संघीय राजधानी काठमाडौंतर्फ लागेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका–९ गंगटेमा बस्दै आएको राउटे समुदायका तीन जना नागरिकसहित मुखिया सोमवार संघीय राजधानी हिँडेका हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न मुखियाँ हरिबहादुर शाहीसहितको टोली काठमाडौं हिँडेको हो । चार्डपर्व नजिकिएसँगै प्रधानमन्त्रीसँग भेट गर्ने र नागरिकका गुनासो सुनाउन काठमाडौं जान लागेको मुखिया शाहीले बताए । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको दशैं र माघी सबैभन्दा ठूलो पर्व हो । दशैं नजिकिएसँगै प्रधानमन्त्रीलाई भेटेर दशैं खर्च जुटाउने उनीहरूको योजना छ ।
दशैंका लागि प्रधानमन्त्रीले भेट्न बोलाएको उनले बताए । ‘दशैंका लागि माग (बोलाइयो) भयो, माग अनुसार गइसकेपछि दाना (चामल) दिनैपर्छ । दाना नदिए राउटेले कसरी दशैं मनाउने, क्याँ खान्या, क्याँ लाउन्याँ, त्यो पनि चाहियो नि ?’ उनले भने, ‘दशैंका लागि जनताले पठाएको छ । प्रधानमन्त्रीलाई भेटेर खाना चाहियो, लाउन्याँ चाहियो भन्छु म ।’ आफ्ना जनताका लागि कपडा र खानेकुरा ल्याउने प्रतिबद्धतासहित उनी राजधानी हिँडेका हुन् । दशैंका लागि बली (खशी) ल्याएरै आउने उनले बताए ।
दशैं खर्च जुटाउनुका साथै काठमाडौं जानुको अर्को उद्देश्य पनि छ । खर्चसँगै राउटेका लागि घुमन्ते नीति बनाउन माग गर्ने योजनासहित राजधानी हिँडेको मुखिया हरिबहादुरले बताए । जंगल फँडानी बढेसँगै राउटे समुदायले काठका सामग्री बनाउन छोडेका छन् । काठका सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका राउटेहरू पछिल्लो समयमा परनिर्भर बन्दै गएका छन् । ‘यहाँ कोसी, मदुश बनाउने काठ कम भयो’ काठमाडौं जानेक्रममा वीरेन्द्रनगरमा भेटिएका राउटे मुखिया हरिबहादुर शाहीले भने, ‘सरकारले परिचय–पत्र दिँदा मृग (बाँदर) मरेनन् । मन्त्रीलाई भटेर त्यही भन्छु ।’
उनले प्रधानमन्त्रीले दशंै खर्च दिएपछि फर्किने बताए । जनताले छिट्टै फर्किनु भने पनि प्रधानमन्त्रीबाट खशी नल्याएसम्म नफर्किने योजना उनले बनाएका छन् । ‘मन्त्री ज्यूले कहिले फर्किने बनाउँछ, जनताले आज जानु भोलि÷पर्सी फर्किनु भन्याको छ’ उनले भने, ‘हरिबहादुर मुखियाले खर्च मागेको हो । दियो भने राम्रौ भयो । नदिए पनि राम्रो भयो ।’
दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका ४० घर राउटे केही दिन पहिले सुर्खेतको लेकवेशीमा बस्ती सरेका छन् । गुराँस गाउँपालिकाले राउटेलाई अस्थायी परिचय–पत्र वितरण गरेको थियो । तर, उनीहरूले परिचय–पत्र त्यागेर लेकवेशी झरेका हुन् । मुखिया शाहीका अनुसार सुर्खेतमा सरेको बस्ती आगामी दिनमा दाङ, सल्यान र रुकुममा सार्ने योजना छ । ‘गाउँपालिकाले परिचय–पत्र दिएको थियो, घरमा परिचय राखेपछि जंगलमा भएको सिकारसमेत जाल
(पासो) मा परेन’ उनले भने, ‘त्यही भएर परिचय–पत्र जंगलमै फालेर बस्ती सुर्खेत झ¥यो ।’
राउटेहरूले बस्ती जहाँ स¥यो त्यही ठाउँबाट राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग समेत गरेका छन् । ‘भत्ताका लागि परिचय–पत्र चाहिँदैन’ मुखिया शाहीले भने, ‘परिचय–पत्र राखेपछि सिकार गयो कि बादर एउटा पनि परेन । गाउँपालिकाबाट दिएको परिचय–पत्र जंगलै फालिदियौं । त्यसैले परिचय–पत्र भन्दा भत्ता दिने नीति चाहियो ।’
राउटे लोपोन्मूख सिमान्तकृत वर्ग उत्थान नेपालले राउटेहरूलाई काठमाडौं लैजान समन्वय गरेको हो । उक्त संस्थाका उपाध्यक्ष यज्ञबहादुर बुढा मगरले राउटेका समस्या प्रधानमन्त्रीलाई नै जानकारी गराउनका लागि मुखियासहितको टोली काठमाडौं जान लागेको बताए । उनले राउटेका लागि सरकारले फिरन्ते नीति ल्याउनुपर्ने समेत बताए । ‘राउटेहरू एकै स्थानमा बस्दैनन्’ उनले भने,‘यो समुदायलाई समेट्ने र मूलधारमा आउने गरि ऐन कानुन बनाउन सरकारले ध्यान दिनुपर्छ ।’ उनले पछिल्लो समयमा राउटे समुदाय असुरक्षित भएको बताए ।

प्रकाशित मितिः   २३ आश्विन २०७५, मंगलवार १८:४५