अब्बल प्रधानाध्यापक

वीरेन्द्रनगर–७ इत्रामकी ज्ञानुकुमारी सुवेदी (गैरै) बुबा मोतिप्रसाद सुवेदी र आमा नन्दकला सुवेदीको कोखबाट घरकी काइली छोरीको रूपमा जन्मिएकी हुन् ।
वि.सं. २०२५ साल कार्तिक १६ गते वीरेन्द्रनगर–१२ नेवारेमा जन्मिएकी ज्ञानु सानैदेखि सहयोगी स्वभावकी थिइन् । त्यही समाजसेवी स्वभाव उनका बुबालाई असाध्यै मन पथ्र्यो । माध्यमिक तहसम्मको शिक्षा अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारे चनौटेबाट पूरा गरेकी ज्ञानुले स्नातक तह भने सुर्खेत क्याम्पस शिक्षाबाट गरेकी हुन् ।
सानो छँदा यो बन्छु भन्ने त ज्ञानुको सपना थिएन तर समाज सेवाको भने उनलाई ठूलो शोख नै थियो । वि.सं. २०४६ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर ज्ञानु शिक्षण पेसामा प्रवेश गरेकी हुन् । झण्डै तीन दशकदेखि शिक्षण पेसामा आवद्ध उनी जनजागृत प्राथमिक विद्यालय पदमपुरकी प्रधानाध्यापक हुन् । उनै ज्ञानुले आफ्नो पेसागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाइन्ः

शिक्षण पेसामा प्रवेश गरेको तीन दशक पुग्न थाल्यो । पढाउँदा पढाउँदै समय बितेको मैले पत्तै पाइन । किनभने मैले शिक्षिका भएर जुनसुकै विद्यालयमा गए पनि विद्यार्थी तथा अभिभावकको माया पाइराखें । प्रायः सरकारी कर्मचारीहरू ‘सरकारी काम, कहिले जाला घाम’ जस्तै गरी काम गर्ने गर्छन् । तर यो मलाई पटक्कै मन पर्दैन । अभिभावकलेसमेत खल्तीबाट पैसा झिक्नु नपर्ने भएकोले आफ्ना बालबालिकाको पढाइमा त्यति चासो गर्दैनन् । तर वास्तवमा यो सरकारी लगानी हो । सरकारले लगानी हाम्रै घर, जमिन र व्यवसाय गरेवापत तिरेको करबाटै गर्ने हो । त्यसैले सरकारी काम अझ राम्रो हुनु जरुरी छ ।

जनजागृत प्राथमिक विद्यालय वि.सं. २०४८ सालमा स्थापना भएको हो । म वि.सं. २०४९ सालदेखि नै जनजागृत प्राथमिक विद्यालयमा शिक्षण गर्दै आएकी छु । जनजागृतमा प्रवेश हुँदा भने म अमरज्योति नमुना उच्च माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएकी थिएँ । कक्षा पाँचसम्म सञ्चालित जनजागृत प्राथमिक विद्यालयमा चार जना शिक्षिका मात्रै रहेका थिए । विद्यालय स्थापनाको करिब २४ वर्ष चार जना शिक्षिकाले मात्रै विद्यालय धाने । शिक्षा कार्यालयले दिएका चारजना शिक्षिकाले मात्रै कक्षा पाँचसम्म नभ्याउने भएपछि निजी स्रोतबाट अभिभावकहरूले दुईजना शिक्षक पालेका छन् ।
वर्षको एक हजार रूपैयाँ अभिवावकहरूले शिक्षक पाल्नैका लागि दिने गरेका छन् । विद्यालयमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी एकदमै न्यून आर्थिक परिवारका छन् । तिनीहरूका लागि मैले पोसाकको व्यवस्था गरेकी छु । म पहिला शिक्षिकाको रूपमा मात्रै काम गर्थें तर काम गर्नका लागि कुर्सीको पनि आवश्यकता पर्नेरहेछ । जबदेखि मैले वि.सं. २०७२ वैशाख २३ गतेदेखि जनजागृत प्राथमिक विद्यालयको प्रधानाध्यापकको रूपमा काम गर्ने अवसर पाएँ तबदेखि विद्यालय सुधार हुँदै गयो ।
म प्रधानाध्यापक भएपछि विद्यालयको भवन निर्माणदेखि शिक्षण विधिमा समेत उल्लेखनीय सुधार भएको छ । त्यो सुधारमा अभिभावकहरू तथा सहयोगी दाताहरूको पनि ठूलो सहयोग छ । हाम्रो विद्यालयमा बालविकाससहित जम्मा एक सय ४५ जना विद्यार्थी रहेका छन् । अंग्रेजी माध्यमबाट भने हामी शिक्षकहरूकै पहलमा २०६९ सालबाटै पढाइ हुन सुरु भएको हो ।
हामीले कक्षा ३ सम्म स्मार्ट कक्षा सञ्चालन गरेका छौं । जहां विद्यार्थीहरू टिभीमा भिडियो हेरेर पढ्ने गर्दछन् । अनुकरणीय हुनुपर्ने भएकोले विद्यार्थीहरूलाई तपाईं भनेर बोलीने गरिन्छ । उनीहरू एकआपसमा पनि तपाईं भनेर बोल्दछन् । बालबालिकाहरू घरको मात्रै खाजा लिएर आउने गर्दछन् । पोशाकमा समेत विद्यालयले सुधार गरेको छ । प्राधानाध्यापक भएपछि मैले विद्यालय टिमसहित तिहारमा भैलो खेलेर वि.सं. २०७२ सालमा नै २८ हजार संकलन गरेकी थिएँ । सहयोग दाताहरूको सहयोगमा हामीहरूले विद्यार्थीहरूलाई पोशाक वितरण गर्यौं ।
प्रत्येक वर्ष जेठको पहिलो हप्तासम्म विद्यालयमा भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क रूपमा दुई–दुई जोर पोशाक र चिसोको लागि ज्याकेट तथा जुत्ता प्रत्येक वर्ष वितरण गर्दै आएका छौं । विद्यालयमा अक्षय कोषकोसमेत व्यवस्था गरिएको छ । जहाँ समस्या पर्दा समाधानका लागि पैसा जगेडा गरिएको छ । विद्यार्थीहरूलाई पहिलो शिक्षा घरबाटै दिनु आवश्यक छ । खानपान, पोशाक र स्वाथ्य तथा बोली भाषा र पढाइप्रतिको लगाव घरबाटै विद्यार्थीले सिक्ने अवसर पायो भने राम्रो हुन्छ । विद्यालयमा शिक्षकको मुस्कानसहितको शिक्षणले विद्यार्थीले ५० प्रतिशत सिक्ने मौका पाउँछ ।
हाम्रो विद्यालयमा विद्यार्थीलाई कहिल्यै सजाय हुँदैन । अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई सहभागी गराउने गर्दछौं । अब घोकन्ते विद्या होइन व्यवहारिक शिक्षा चाहिएको छ त्यो हामीबाटै सुरुवात हुनु जरुरी छ । हामी व्यवहारिक शिक्षामा बढी जोड दिने गर्दछौं । बैंकमा पैसा जम्मा गर्नेदेखि खाना बनाउनेसम्मको सीप विद्यालयमा सिकाइन्छ त्यो विद्यार्थीका लागि व्यवहारिक ज्ञान हो । कतिपय अवस्थामा मैले विद्यार्थीका लागि कापी, कलम र पोशाक समेत आफ्नै पैसाले किनिदिने गर्दछु । समाज सेवा र विद्यालय सुधारका लागि मलाई घरपरिवारको समेत एकदमै ठूलो सहयोग छ । मेरो चार जनाको परिवार छ । दुई छोरा, म र श्रीमान् । श्रीमान् सामाजिक विकास मन्त्रालयमा स्वाथ्य अधिकृतको रूपमा काम गर्नुुहुन्छ भने छोराहरू पढ्दैछन् ।
मलाई अझै विद्यालयमा कक्षा वृद्धि गर्ने ईच्छा छ । अभिभावकको दबाब तथा विद्यार्थीको भविष्यको लागि कक्षा बढाउने लक्ष्य मैले राखेकी छु । अरु विद्यालयको भन्दा जनजागृत फरक छ । यो विद्यालय बालमैत्री विद्यालय हो । अरु विद्यालयले जनजागृत प्राथमिक विद्यालयबाट सिक्नुपर्ने थुप्रै कुराहरू छ । जस्तै जंक फुड हामी प्रयोग गर्दैनौै, बालमैत्री मुस्कानसहितको सेवा छ । हामी कहिल्यै विद्यार्थी कुट्दैनौं । अतिरिक्त क्रियाकलापहरूमा बढी ध्यान दिएका छौं । ती लगायत सरसफाइ, बोलिभाषा थुप्रै कुराहरू हामीबाट अरु विद्यालयले सिक्नुपर्नेछ ।