टुक्रे योजनामा सकिदै बजेट
हिक्मत नेपाली
दैलेख, २२ असोज ।
गत साता दैलेख आएका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्थानीय तहमा करोडौं बजेट आए पनि स्थानीय सरकार साना योजनामा अल्झँदा नागरिकले विकासको अनुभूति गर्न नपाएको बताएका थिए । जिल्लाका ११ वटै स्थानीय तहका योजना कार्यान्वयनको अवस्था हेर्ने हो भने पनि मन्त्री ज्वालाको भनाइ पुष्टि हुन्छ ।
स्थानीय तहमा जनप्रतिनिधि चुनिएको डेढ वर्ष बित्यो । विकास र समृद्धिका लागि थुप्रै नक्साहरू कोरिए । तर, कतिपय योजनाहरू कागजमै सीमित बने । नागरिकहरूले सोचे जस्तो सेवा पाउन सकेका छैनन् । जिल्लाका ११ वटै स्थानीय तहले एउटा आर्थिक वर्षमा तीनदेखि ६ सय योजनाहरू सञ्चालन गरे पनि कार्यान्वयनको गति भने सुस्त छ । त्यति मात्र होइन स्थानीय सरकारहरूले पाँच लाख भन्दा कम बजेटका टुक्रे योजनालाई प्राथमिकता दिएका छन् । टुक्रे योजनामा सीमित भएका स्थानीय तहले ठूला योजनाहरूमा प्रगति हासिल गर्न सकेका छैनन् । जिल्लाका सबै स्थानीय तहहरूले गत आर्थिक वर्षमा सडक विस्तार बाहेक अन्य पूर्वाधार विकासको उपलब्धी हासिल गर्न नसकेको पाइएको छ ।
जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिकाले गत आर्थिक वर्षमा पाँच लाख भन्दा कम बजेटका एक सय ३९ योजना र पाँच लाखदेखि २० लाखसम्मका दुई सय ३६ योजनाहरू सञ्चालन गरेको थियो । ५० लाखसम्मका पाँच वटा योजना मात्रै सञ्चालन गरको आठबिसले ५० लाख भन्दा माथिको लागतमा ठूला योजनाहरूलाई समेट्न सकेन । अल्लो प्रशोधन उद्योग, ज्येष्ठ नागरिकलाई सम्मान, विपन्न वर्गलाई आय–आर्जनका क्रियाकलाप सञ्चालन लगायतमा प्रगति भएको नगरपालिकाको दाबी छ ।
सबैभन्दा पुरानो नारायण नगरपालिकाले पञ्चकोशी तालको डीपीआर तयार, नगर प्रोफाइल, सडक विस्तार, मोबाइल एप निर्माण लगायतका कार्यलाई प्रमुख उपलब्धीको रूपमा लिएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेटका दुई सय ६ वटा योजना सञ्चालन गरेको थियो भने ठूला योजनालाई प्राथमिकतामा राख्न सकेन । नगरपालिकाले पुरानै शैलीमा टुक्रे योजनालाई प्राथमिकता दिएकाले भौतिक पूर्वाधारमा प्रगति नदेखिएको स्थानीयबासीको भनाइ छ । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो दुल्लू नगरपालिकाले ९१ धार्मिक तथा पुरातात्विक स्थलको संरक्षणलाई मुख्य उपलब्धि मानेको छ । पाँच लाखभन्दा कम बजेटका पाँच सय ५९ टुक्रे योजना सञ्चालन गरेकोले खासै प्रतिफल हासिल नभएको सरोकारवाला बताउँछन् । नगरपालिकाको वडा नं. ३ र ९ लाई पूर्ण सरसफाइ युक्त घोषणा, नेपाली भाषाको पहिलो शिलालेखको संरक्षण लगायतका कामलाई उपलब्धी ठानेको छ । तीन सय ६३ वटा टुक्रे योजना सञ्चालन गरेको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपार्क, खेलमैदान, फराकिला सडकको नीतिलाई कार्यान्वयनमा ल्याउनु प्रमुख उपलब्धीको रूपमा लिएको छ । गत आर्थिक वर्षमा २८ वटा टुक्रे योजना र चालु आर्थिक वर्षमा १३ वटा साना योजनाहरू सञ्चालन गरेको भगवतीमाई गाउँपालिकाले ५० लाख भन्दा माथिको एउटा योजना मात्रै सञ्चालनमा ल्याएको छ ।
भैरवी गाउँपालिकाले गत आर्थिक वर्षमा दुई सय ५० वटा साना योजनाहरूमा बजेट सकेको थियो । यस्तै, डुङ्गेश्वर गाउँपालिकाले बाल क्लब गठन, ज्येष्ठ नागरिकलाई सम्मान, महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन, बालमैत्री स्थानीय शासन कार्यक्रमबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता बढ्नुलाई उपलब्धी मानेको छ । उक्त गाउँपालिकाले गत आर्थिक वर्षमा पाँच लाख भन्दा कमका तीन सय ४८ वटा टुक्रे योजना सञ्चालन गरेको थियो ।
गुराँस गाउँपालिकाले सबै वडामा स्वास्थ्य शिविर सञ्चालन, गाउँपालिका र मावि विद्यालयमा विद्युतीय हाजिरी, लोडर खरिद लगायतका कार्यलाई उपलब्धी ठानेको छ । पाँच लाख भन्दा कम बजेटका तीन सय १६ वटा योजना सञ्चालन गरेको नौमूले गाउँपालिकाले सडक विस्तार, विद्युतको पोल विस्तार, व्यवसायिक कृषि तथा पशुपालनमा जोड दिनुलाई प्रगतिको रूपमा लिएको छ ।
यस्तै, ठाँटीकाँध गाउँपालिकाले सडक गुरुयोजना, बृहत ठाँटीकाँध खानेपानी आयोजना बर्थिङ सेन्टर र एक्सरे भवन निर्माणलाई प्रमुख उपलब्धीको रूपमा लिएको छ भने पाँच लाख भन्दा कम बजेटका तीन सय २० वटा योजना सञ्चालन गरेको महावु गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण, आधुनिक चुलो निर्माण, धामीझाँक्री अभिमुखीकरण तालिमलाई आफ्नो प्रमुख उपलब्धीको रूपमा लिएको छ । गत आर्थिक वर्षमा टुक्रे योजनामा सीमित भएका स्थानीय तह मध्येको आठीिस नगरपालिकाले रामाघाटदेखि पिपलकोट सडकलाई प्राथमिकतामा राखेको छ । दुल्लूले ‘दुल्लू सांस्कृतिक संग्रहालय’ को स्थापना, नगरभित्र १६ किमि क्षेत्रमा टेलिमेडिसनका लागि अप्टिकल फाइबर विस्तार, पञ्चकोशी वेद विद्याश्रम स्थापना लगायत योजनालाई यसवर्ष प्राथमिकता दिइ बजेट विनियोजन गरेको छ ।
साझा बिसौनी ।