दुई सय सिँचाइ कुलो बनाइदैं

दलसिंह गिरी

कालिकोट, २२ चैत ।
जिल्लाका विभिन्न गाविसहरूमा चार वर्षमा दुई सय पक्की सिँचाइ कुलोहरू निर्माण हुने भएका छन् । नेपाल सरकार र स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा कालिकोट जिल्लामा सञ्चालित साना सिँचाइ कार्यक्रम एसआइपीद्वारा यी कुलोहरूको निर्माण हुने भएको हो । 
कुलो निर्माणका क्रममा सम्झौता पछि स्यूना गाविसको एक हजार चार सय २८ मिटर लामो शान्तिघाट सिँचाइ कुलो १९ लाख ७९ हजार दुई सय ७३ तथा एक लाख ३१ हजार सात सय ५१ जनश्रमदानमा निर्माणको काम सुरु भएको छ । यो कुलोको 
निर्माणपश्चात् एक सय २३ घरधुरीका स्थानीयवासी लाभान्वित हुने भएका छन् । यसैगरी स्यूना गाविसकै औलसेन सिँचाइ कुलोको पनि निर्माण कार्य सुरुभएको छ । १७ सय ३६ मिटर लामो कुलो निर्माण भएपछि २४ हेक्टर जग्गा सिँचाइ हुने र यस कुलोबाट ९२ घरधुरीका स्थानीयवासी लाभान्वित हुने भएका छन् । कुलो निर्माण कार्य सम्पन्न गर्न ४२ लाख, ८९ हजार तथा दुई लाख ७९ हजार जनश्रमदानबाट खर्चिने जनाइएको छ ।
यसैगरी रापानी सिँचाइ कुलो मुम्राको निर्माण कार्य सम्पन्न भएपछि वडा नम्बर ४ देखि ९ सम्मका ६५ घरधुरीका स्थानीयवासी लाभान्वित हुने भएका छन् । ३२ लाख एक हजार एक सय सात तथा स्थानीयको दुई लाख १३ हजार दुई सय सात रूपैयाँ जनश्रमदानबाट ११ सय १४ मिटर लामो कूलो निर्माण भएपछि १७ हेक्टर जग्गा सिंचित हुने भएको छ । एसआइपीका सवइन्जिनियर कमल रावलले दिएको जानकारी अनुसार चार वर्षभित्र जिल्लाका विभिन्न गाविसमा दुई सय बढी पक्की कुलोको निर्माण गर्ने अभियान सुरु गरिएको छ । यसैगरी भर्ताको छाती, कालिकाको समलागाउँमा पनि यस्तै सिँचाइ कुलोको निर्माण कार्य आरम्भ गरिएको सवइन्जिनियर रावलले बताए । 
प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार ०५:११