विश्वविद्यालयमा तालाबन्दी
साझा बिसौनी संवाददाता
सुर्खेत, २२ चैत ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा प्राध्यापकहरूले तालाबन्दी गरेका छन् । विभिन्न प्राध्यापक सङ्गठनहरूले संयुक्त रूपमा सोमवार ताला लगाएका हुन् ।
विश्वविद्यालयमा हाल कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको हितविपरित स्थायी नियुक्तिको कार्यविधि निर्माण गरिएको भन्दै प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन् । कार्यविधि निर्माणमा आफूहरूलाई नसमेटेर एकलौटी रूपमा गरिएको आरोप प्राध्यापक सङ्गठनहरूले लगाएका छन् । प्राध्यापकहरूसँग सल्लाह गरेर कार्यविधि निर्माण गर्ने यसअघिको सहमति लत्याउँदै पदाधिकारीहरूले रातारात एक्लै कार्यविधि बनाएर पास गर्ने तयारी गरेपछि तालाबन्दीसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको प्राध्यापक संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक सभापति अम्मरबहादुर रोकायले जानकारी दिए ।
आन्दोलनरत प्राध्यापकहरूले यही चैत २४ गते बस्न लागेको विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठक स्थागित गर्नुपर्ने माग समेत गरेका छन् । विश्वविद्यालयमा हाल कार्यरत प्राध्यापक तथा कर्मचारीहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउनुपर्ने माग उनीहरूको छ । तर पदाधिकारीहरूले हाल कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले पनि खुलाबाटै प्रतिस्पर्धा गर्नुपर्ने गरी कार्यविधि निर्माण गरेको जनाइएको छ ।
यसको विरोधमा प्राध्यापकहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले आज (मंगलवार) डीनको कार्यालयमा र केन्द्रीय कार्यालयमा पनि तालाबन्दी गर्ने र विस्तारित कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै चैत २४ गते विश्वविद्यालयका सम्पूर्ण पठन–पाठन बन्द गर्नुका साथै दिउँसो १ः०० बजे प्राज्ञिक परिषद्को बैठक स्थलमा धर्ना दिने कार्यक्रम रहेको रोकायले जनाए । २४ गतेसम्म पनि मागको सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।
प्रकाशित मितिः २३ चैत्र २०७२, मंगलवार ०५:१५
साझा बिसौनी संवाददाता ।