गुमेको ज्योति फर्काउँदै आँखा अस्पताल

सुर्खेतमा अत्याधुनिक आँखा अस्पताल, वैशाख पहिलो साता सञ्चालनमा आउने, दुर्गमका बिरामी खुशी


साझा बिसौनी संवाददाता

सुर्खेत, २२ चैत । 
उनका आँखाले प्रष्ट देख्न छोडे । नजिकैको वस्तु पनि धमिलो र अस्पष्ट देख्न थालिन् । दिन प्रतिदिन आँखा कमजोर हुँदै गएको महसुस हुन थाल्यो । ‘बुढेसकालले छोएको’ भन्दै केही वर्ष त उनले यत्तिकै कटाइन्, तर आँखाले भर पाउन छोडेपछि भने आँखा जाँचका लागि सुर्खेतमा रहेको आँखा अस्पतालमा पुगिन् । आँखामा मोतिविन्दु भइसकेको रहेछ, तर थाहा नपाएरै मजकोट जाजरकोट निवासी ६० वर्षीया शीतला शाहीले कैयौं वर्ष निक्कै कष्ट बेहोरिन् । 
वृद्ध अवस्थामा शारीरिक अशक्तता बढ्दै जाँदा आँखाले पनि भर नदिएर कष्टपूर्ण जीवन बिताउन बाध्य शीतला अहिले भने प्रष्ट देख्न सक्ने भएकी छिन् । उनको आँखाको ज्योति फर्काइ दिएको छ, वीरेन्द्रनगरमा रहेको सामुदायिक आँखा अस्पतालले । उक्त अस्पतालमा पुगेर मोतिविन्दुको अप्रेशन गरेपछि शीतल पहिलेजस्तै देख्न सक्ने भएकी छिन् । जुम्ला घर भएकी ५८ वर्षीया मनु खड्काले पनि वृद्ध अवस्थामा प्रवेश गर्दै गर्दा आफ्नै आँखाको साहारा गुमाइन् । आँखामा मोतिविन्दु भएपछि विस्तारै उनको आँखाको ज्योति गुम्दै गयो । आफ्नै आँखाले समेत साहारा दिन छोडेपछि चिन्तित बनेकी खड्काका लागि सुर्खेतमा रहेको आँखा अस्पताल नै साहारा बनिदियो । अस्पतालमा आएर मोतिविन्दुको अप्रेशन गराएपछि उनको पनि आँखाको ज्योति फर्किएको छ । उनी अहिले प्रष्टसँग आँखा देख्न सक्ने भएकी छन् । 
जाजरकोटकी शीतला र जुम्लाकी मनुको मात्र होइन, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतले सञ्चालन गरेको सामुदायिक आँखा अस्पतालले यस्ता हजारौंको गुमेको आँखाको ज्योति फर्काइ दिएको छ । अरुको साहारामा अस्पतालसम्म आइपुगेका आँखाका बिरामीहरू अस्पतालबाट आफै देख्न सक्ने भएर फर्किने गरेका छन् । मध्य तथा सुदूरपश्चिमका हजारौं आँखाका बिरामीहरूको साहारा बनेको छ, सामुदायिक आँखा अस्पताल । अस्पतालले विगत दुई दशकदेखि यस क्षेत्रका नागरिकहरूलाई सेवा दिँदै आएको छ । रेडक्रसको अगुवाइमा वि.सं. २०४६ सालमा वीरेन्द्रनगरमा आँखा जाँच केन्द्र स्थापना गरिएको थियो । सोही केन्द्रलाई विस्तार गरी हाल अस्पताल बनाइएको छ । अस्पतालमा दैनिक डेढ सयभन्दा बढी बिरामीलाई सेवा दिइरहेको अस्पतालले जनाएको छ । मध्य तथा सुदूरपश्चिमका जिल्लाहरूबाट समेत उपचारका लागि बिरामीहरू अस्पतालमा आउने गरेका छन् । एक वर्षमा सुर्खेतमा मात्र दुई हजार दुई सय जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालको तथ्याङ्कमा छ । अस्पतालबाट हिजोआज सुर्खेत लगायत यस क्षेत्रका दुर्गम जिल्लाका नागरिकहरूले प्रत्यक्ष लाभ लिइरहेका छन् । 
सामाजिक सेवामा क्रियाशील रेडक्रसले सञ्चालन गरेको अस्पतालको सेवा समेत सर्वसुलभ रहेको छ । अहिले १५ शैयाको स्वीकृती लिएर सुविधा सम्पन्न भवन निर्माण समेत भइरहेको छ । उक्त भवन निर्माण सम्पन्न भएमा अस्पतालको सुविधा थप प्रभावकारी हुने अस्पताल सञ्चालक समितिका संयोजक लिलाराम सुवेदीको विश्वास छ । भवन निर्माणको काम करिब सम्पन्न भइसकेको र वैशाख पहिलो साताभित्रै नयाँ भवनबाट सेवा सुचारु हुने उनले जानकारी दिए । सरकारले भोगाधिकार दिएको करिब दुई विगाहा जग्गामा सुविधायुक्त भवन बनाइएको हो । आँखा अस्पताल स्थापनार्थ सुरुदेखि नै लागेका अभियन्ता सुवेदी मध्य तथा सुदूरपश्चिमका नागरिकका लागि अस्पताल वरदान सावित भएको बताउँछन् । ‘यहाँ अस्पताल बनेपछि हजारौंले आँखाको ज्योति पाएका छन्’ उनले भने, ‘यहाँको सेवा पनि सर्वसुलभ छ ।’ अस्पतालले आँखा सम्बन्धी सबै जाँच र अप्रेशन गर्ने गरेको छ । अस्पतालले आँखा जाँच र शल्यक्रिया मात्र होइन गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निःशुल्क शिविरहरू समेत सञ्चालन गर्दै आएको छ । ‘अस्पतालमै आउनेहरूलाई यहाँबाट सेवा दिने गरेका छौं भने समय–समयमा दुर्गम गाउँहरूमा समेत पुगेर शिविर सञ्चालन गरिरहेका छौं’ अस्पतालका व्यवस्थापक घनबहादुर थापाले भने । 
यस क्षेत्रमा आँखाका बिरामीको संख्या ठूलो मात्रामा रहेको जनाइएको छ । सुर्खेतमा मात्र वार्षिक दुई हजार भन्दा बढी आँखाका बिरामी फेला पर्ने गरेको थापाले जानकारी दिए । बिरामीहरूको चाप बढे पनि अस्पतालमा पर्याप्त संख्यामा जनशक्ति नभएको उनले जनाए । अस्पतालको भवन निर्माणका लागि स्वीस रेडक्रसले सहयोग गरेको हो । तर सरकारी निकायबाट अस्पतालका लागि कुनै सहयोग नभएको बताउँछन् संयोजक सुवेदी । आफ्नै स्रोतबाट अस्पताल सञ्चालन भइरहेको भन्दै उनले सरकारले पनि यसमा लगानी गर्न जरुरी रहेको बताए । 
साथै उनले अब आफूहरूले सुर्खेतबाटै आँखा र कान सम्बन्धी रोगको अत्याधुनिक सेवा प्रवाह गर्न लागेको जानकारी दिए ।
प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार ०५:१८