जनप्रतिनिधिले सुने जनताको गुनासो

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ असोज ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावतले जनतासँग छलफल गरेका छन् । सांसद रावतले वीरेन्द्रनगर–९ मा सोमवार स्थानीय विकासका गतिविधि र जनताका आवश्यकताबारे जानकारी लिएका हुन् । जनतासँग सांसद भन्ने नीति अनुसार रावतले जनतासँग विकास निर्माणमा भूमिका बारेमा छलफल गरेका थिए ।
जनताले सांसद रावतलाई कर्णाली प्रदेश राजधानीका रूपमा रहेको वीरेन्द्रनगर नगरपालिकाको विकासका लागि संघीय सरकारसँग समन्वय गरिदिन आग्रह गरेका छन् । जिल्लामा सुकुम्बासी समस्या, सडक निर्माण, विद्युत, नगरको चक्रपथ लगायतका विकास निर्माणका कामबारेमा प्रश्न गरेका थिए । जनताले निर्वाचनताका गरेका प्रतिबद्धताहरू पूरा गर्न सांसद रावतलाई आग्रह गरे ।
जनताका गुनासो र आवश्यकताबारेमा छलफलपछि सांसद रावतले सुर्खेतको विकासका लागि निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले संघीय सरकारले पर्यटकीय क्षेत्र अन्तर्गत काँक्रेबिहारको पर्खाल निर्माणका लागि १० करोड रूपैयाँ, बुलबुले उद्यानको विकासका लागि ६ करोड, भेरी नदीको खानेपानी वीरेन्द्रनगर ल्याउन लिफ्टिङ्ग प्रविधिका लागि पनि बजेट विनियोजन भएको बताए ।
‘बजेट विनियोजन भएको विकास आयोजनाको टेण्डर आव्हानको प्रक्रिया अगाडि बढाइएको छ’ सांसद रावतले भने, ‘विकास निर्माणका काममा भएको क्षतिबारे स्थानीय सरकार जवाफदेही हुनुपर्छ । जनतालाई सुकुम्बासी बनाउनु हुँदैन ।’
उनले वीरेन्द्रनगरको चक्रपथ निर्माण, १३२ केभीए विद्युत प्रशारण लाइन लगायतका विकास आयोजनाहरू संघीय सरकारको प्राथमिकतामा परेको बताए ।
वीरेन्द्रनगर–९ का वडा सदस्य जीवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी ऋषी गिरी, आदिबासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर सलामी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २३ आश्विन २०७५, मंगलवार १६:२८