समृद्ध कर्णाली बनाउन बहस
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असोज ।
कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने सम्भावना र चुनौतीहरूमाथि बहस थालिएको छ । कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रले बहसको थालनी गरेको हो ।
केन्द्रले आइतवारदेखि वीरेन्द्रनगरमा समृद्ध कर्णाली प्रदेश निर्माणको आधार, सम्भावना र चुनौतीहरू विषयक दुई दिने कर्णाली विकास विमर्शको आयोजना गरी बहसको थालनी गरेको छ । उक्त बहसमा सहभागीहरूले कर्णालीमा प्रशस्त सम्भावनाहरू रहेको र सँगसँगै चुनौतीहरू पनि रहेको बताएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सम्भावनाहरूको पहिचान र चुनौतीहरूको सामना नगरी समृद्धि प्राप्त नहुने बताए । उनले भने, ‘कर्णाली प्रदेशमा थुप्रै सम्भावनाहरू रहेका छन् तर के–के सम्भावना छन् भन्ने कुराको वास्तविकता पहिचान नगरी कर्णालीको विकास सम्भव छैन ।’ विकासको ‘मोडेल’ कस्तो खालको बताउने भन्ने कुरामा समेत ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो । उनले थपे ‘समृद्धिको लागि उत्पादनमुखी कार्यक्रमको आवश्यकता पर्दछ । जबसम्म हामीहरू उत्पानमूलक कार्यक्रमहरू ल्याउँदैनौ तबसम्म विकासको परिकल्पना गर्न सकिंदैन ।’
त्यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि सडक तथा हवाई यातायातलाई समेत ध्यान दिनुपर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको समृद्धिको लागि युवाहरू एकजुट हुनुपर्ने बताइन् ।
कार्यक्रममा आइतवार दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कर्णाली प्रदेशको भाषा, संस्कृतिको विकास, सम्भावना र सीमाका विषयमा डा. दिपक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कर्णालीको आर्थिक विकास, सम्भावना र चुनौती विषयमा उप–प्राध्यापक माधवप्रसाद खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम आज (सोमवार)सम्म चल्ने केन्द्रका महासचिव धुपेन्द्र शाहीले जानकारी दिए ।
साझा बिसौनी ।