जिल्ला र प्रदेश लिग हुने
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असोज ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले केही समयभित्रै जिल्ला र प्रदेश लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएका छन् । सुर्खेत जिल्ला फुटबल संघले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले स्थानीय तहबाटै फुटबलको विकासका लागि काम गरिने बताए ।
भर्खरै मात्रै ‘ए’ डिभिजन लिग आयोजना गरेको एन्फाले प्रदेश र जिल्ला लिग आयोजनाको लागि पनि तयारी गरिरहेको छ । जिल्ला प्रेसिडेन्ट लिग, प्रदेशस्तरीय एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिग गरेर विभिन्न चरणमा पिरामिड शैलीले लिगहरू सञ्चालन गर्ने योजना बनााएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी वैशाखसम्ममा जिल्ला लिग आयोजना गर्ने गरी तयारी भइरहेको समेत जनाए । यद्यपि जिल्ला लिगको मिति टुंगो भने लागिसकेको छैन । अध्यक्ष शर्माले स्थानीयस्तरबाटै राम्रा खेलाडी उत्पादन गर्न सकेमा मात्र मुलुकको फुटबल क्षेत्रले फड्को मार्ने बताए । यसका लागि योजनाबद्ध रूपमा एन्फाले काम गर्ने उनको भनाइ थियो ।
यस्तै एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्वाङले भविष्यका लागि राम्रा खेलाडी उत्पादन गर्न एन्फाले अहिले सुर्खेतसहित ४५ वटा जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले फुटबल विकासको जग नै जिल्ला भएको भन्दै जिल्ला लिगलाई प्रभावकारी बनाइने पनि बताए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिंहले उत्कृष्ट खेलाडी र राम्रा प्रशिक्षक उत्पादनमा एन्फाले विशेष जोड दिएको बताए ।
सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरूले पूर्वाधार विकास, निरन्तर प्रतियोगिता सञ्चालन, राम्रो प्रशिक्षणको व्यवस्था र उचित पुरस्कार दिन सकेमा मात्र फूटबलको विकास हुने सुझाव एन्फा पदाधिकारीहरूलाई दिएका थिए ।
साझा बिसौनी ।