‘बालिका बचाऊ’ अभियान

साझा बिसौनी संवाददाता
दैलेख, २१ असोज ।
दैलेखमा बालिकाको आत्मरक्षाका लागि अभियान थालिएको छ । बालिकामाथि बलात्कार तथा यौनजन्य घटनाहरू श्रृंखलाबद्ध रूपमा हुन थालेपछि यस्ता घटनाहरूलाई निराकरण गर्न ‘बालिका बचाउ’ अभियान सुरु गरिएको हो ।
यौनजन्य दुव्र्यवहार र बलात्कारविरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता भन्ने नारा बोकेर ‘बालिका बचाउ’ आत्मरक्षक अभियानको थालनी गरिएको हो । बालिका बचाउ अभियानले विद्यालयमा अध्ययनरत बालिकाहरूलाई बलात्कार र यौनजन्य दुव्र्यवहारको बारेमा जानकारी गराउनुका साथै सुरक्षा निकायको सहयोगमा आत्मरक्षकको अभ्यास गराइनेछ ।
बालिकाको प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै बाालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य घटनाको पहिचान गर्न सक्ने क्षमता बढाउनका लागि ‘बालिका बचाउ’ अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ । अभियानकी संयोजक सजना सुनारले पहिलो चरणमा जिल्ला सदरमुकामस्थित नारायण नगरपालिकाभित्र रहेका विद्यालयलाई समेट्ने बताइन् । ‘नेपाल प्रहरीको तथ्यांक अनुसार बालिका बढी बलात्कृत हुने गरेका छन््’ उनले भनिन्, ‘विद्यालय तहमा गरिने अभियानले बालिकामाथि हुने यौनजन्य र बलात्कारका घटनामा कमी आउनेछ ।’ अभियानको संयोजक सुनार सुुर्खेतमा बालविवाह न्यूनीकरण, जातीय विभेद र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएकी थिइन् ।
‘बालिका बचाउ’ अभियान सञ्चालनका लागि पूर्व तयारी स्वरूप आइतवार समन्वयात्मक बैठक समेत गरिएको छ । बैठकबाट सजना सुनारको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको अभियानका सदस्य प्रभाकुमार विकले जानकारी दिइन् । समन्वयात्मक बैठकमा सहभागीले जिल्लामा पहिलो पटक सञ्चालन भएको ‘बालिका बचाउ’ अभियानलाई व्यक्तिगत रूपमा पनि सहयोग गर्ने बताउँदै अहिलेको समय सान्दर्भिक अभियानलाई जिल्लाव्यापी बनाउन सुझाव दिएका छन् ।
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले स्थानीय तहको नीति तथा कार्यक्रममा समावेश गरी अभियानलाई मजबुद बनाउने
बताए । उपप्रमुख सावित्री मल्लले जिल्लामा यस्तो अभियानले बालिकामाथि हुने यौनजन्य तथा बलात्कार घटना घट्ने बताइन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बालिकामाथि हुने यौनजन्य तथा बलात्कारका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मितिः   २२ आश्विन २०७५, सोमबार १५:४८