स्रष्टा सम्मानसहित सांस्कृतिक कार्यक्रम

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असोज ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले समृद्ध कर्णाली निर्माणका लागि यहाँको भाषा, कला र संस्कृतिको पनि संरक्षण र विकास हुनुपर्ने बताएका छन् । कर्णाली कला प्रतिष्ठान नेपाल सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको स्रष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।
मन्त्री रावलले कर्णाली नेपाली भाषाको उद्गमस्थल हुनुका साथै कला, संस्कृति र संगीतमा पनि धनी प्रदेश भएको बताउँदै यसको संरक्षण अपरिहार्य रहेको बताए । उनले सरकारले पनि कला संस्कृतिको संरक्षण र विकासका लागि काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कर्णाली कला प्रतिष्ठानका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू राखेका थिए भने कलासाहित्यको क्षेत्रमा योगदान पु¥याउने र प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्यहरू सीता नेपाली, दलसिं परियार, पद्मा खड्का लगायतको पनि सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष बालकृष्ण सुनारका अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २२ आश्विन २०७५, सोमबार १५:४३