‘जुम्ला व्यापारिक केन्द्र बन्छ’

साझा बिसौनी संवाददाता
जुम्ला, २० असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास गरिने बताएका छन् । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिवार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक केन्द्र रहेको बताएका हुन् ।
‘कर्णालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि भोट र भारतसँग व्यापार गथ्र्यो’ मुख्यमन्त्री शाहीले भने, ‘जुम्लाको व्यापारले गर्दा हिजोका दिनमा कर्णाली उत्पादन र अर्थतन्त्रमा आत्मनिर्भर थियो ।’ उनले जुम्लालाई ठूलो अर्थतन्त्र भएका छिमेकी देश चीन र भारत जोड्ने द्रूतमार्ग निर्माण गरेर जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने बताए । तीन वटै तहका सरकारहरू बीचको आपसी समन्वयमा मात्रै संघीयतालाई सफल बनाउन सकिने बताए । संघीयताका विरुद्ध प्रतिगामी शक्तिहरूले विभिन्न भ्रम सिर्जना गर्ने गरेको भन्दै उनले स्थानीय तहका सरकारहरू त्यस्ता भ्रमबाट सचेत हुनुपर्ने बताए । कर्णालीको विकासका लागि प्रदेश सरकार स्थानीय तहसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउँदै कर्णालीमा रहेको स्रोत साधनको उपयोग गरेर जनताको अपेक्षा बमोजिम छोटो समयमै समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
‘तपाईंहरू निराश नहुनुस्, युद्धले ध्वस्त भएका जापान, चीन, कोरिया लगायतका देशहरू छोटो समयमै समृद्धिको शिखरमा पुगेका छन्’ उनले भने, ‘तपाईं–हामी पनि दृढ इच्छाशक्तिका साथ अगाडि बढ्यौं भने हाम्रो विकास र समृद्धि कसैले रोक्न सक्दैन ।’ समृद्धिको लागि उत्पादन अपरिहार्य भएको बताउँदै उत्पादनमूलक योजना बनाउन स्थानीय जनप्रतिनिधिहरूलाई अनुरोध गरे । उनले फापर, स्याऊ र आलु बेचेरै हामी धनी हुने कर्णालीबासी चाऊचाऊको पछि नलाग्न आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिट्टै तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरे । संघीय सरकारले कानुन निर्माणको काममा ढिलाइ गर्दा प्रदेश सरकारलाई कानुन निर्माणमा अप्ठ्यारो भएको मन्त्री भण्डारीको भनाइ छ ।
स्थानीय तहका सरकार जनतासँग सिधै जोडिएको कारण सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी, छिटोछरितो र सहज ढङ्गले अगाडि बढाउन मन्त्री भण्डारीले जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘तपाईंहरूमा भुरेटाकुरे राजाको दम्भ नपलाओस्’ स्थानीय जनप्रतिनिधिहरूका बारेमा जनताले गुनासो गर्न थालेको भन्दै मन्त्री भण्डारीले भने, ‘आफ्नो धरातल हेर्नुहोस्, जनताले तपाईंहरूबाट शासन होइन सेवा पाउन निर्वाचित गरेका हुन् ।’
अन्तरक्रिया कार्यक्रममा जुम्लाका आठ वटै स्थानीय तहका प्रमुखहरूले आफ्नो क्षेत्रमा भएका विकास निर्माण तथा समस्याहरूको बारेमा जानकारी गरेका थिए । उनीहरूले प्रदेश सरकारले स्थानीय तहका कानुन निर्माणमा ढिलाइ गरेका कारण समस्या भएको गुनासो गरेका थिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री, प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ, कुर्मराज शाही, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी प्रमुख सिताराम रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २१ आश्विन २०७५, आईतवार १५:३६