‘भ्रष्टाचार अन्त्य अपरिहार्य’

कालिकोट, १९ असोज । (साबिस)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचारलाई पूर्णरूपमा निर्मूल पार्न नसकेसम्म कर्णालीको विकास नहुने बताएका छन् । अन्य प्रदेशको तुलनामा विपन्न र गरीब प्रदेशका रूपमा रहेको कर्णाली प्रदेशको समृद्धिका लागि स्थानीय सरकार भ्रष्टाचार नियन्त्रणमा लागनुपर्ने उनले बताए । ‘स्थानीय तहले भ्रष्टाचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनीतिक व्यवस्थाका विरुद्ध जनमत बन्छ’ जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा शुक्रवार भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘भ्रष्टाचारबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकता भएका व्यक्तिको विकास हुन्छ । कामै नगरी पैसा कमाउने भए कसले गर्छ श्रम ? अनि कसरी कर्णाली बन्छ ?’
भ्रष्टाचार गर्ने उद्देश्यले नै योजना निर्माण गर्ने र नजिकका मान्छेहरूलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढ्न थालेकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गरे ।
्‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं’ स्थानीय जनप्रतिनिधिहरूलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्दै उनले भने,‘कर्णालीको समृद्धिका लागि सबै नागरिकले श्रम गर्नुपर्छ, श्रम गर्ने संस्कारको विकास गर्न प्रदेश सरकारले श्रमदिन मनाउने गरेको छ ।’
मुख्यमन्त्री शाहीले आफनो क्षेत्रको विकासका लागि कसैको भर नपर्न आग्रह गरे । ‘संसारका सबै राष्ट्र आफनो श्रम र चेतनामा विश्वास गरेर नै समृद्ध भएका छन्’ उनले भने,‘अब कसैले दिने त्रिपालको आशा नगरौं, हामी आफै उत्पादन र श्रममा लागौं ।’ मुख्यमन्त्री शाहीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार विकास मन्त्री खड्गवहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाही कालिकोट पुगेका छन् ।

प्रकाशित मितिः   २० आश्विन २०७५, शनिबार १४:३८