मुहार फेर्दै बावियाचौर

जगतदल जनाला बिक
पञ्चपुरी, १९ असोज ।
गोधुली साँझ पर्न लाग्यो कि बाहिर निस्किनै गाह्रो । गोठभरी बाँधेका गाइभैंसी बिहान जीवित नहुने । खोरका बाख्रा, गोठका गाई, गोरु जोगाउनै मुस्किल । घना जंगल, दिउँसै घर नजिकै आएर बाघ कराउने । दैनिक बाघको त्रासमा जीवन जिउनुपथ्र्यो बावियाचौरमा । खासै उब्जनी पनि हुँदैन थियो । बिरामी परेपछि झारफुर र जडिबुटी बाहेक विकल्प थिएन । नजिकमा स्वास्थ्य संस्था थिएनन् । घोडा र खच्चडकै भरमा यातायात ढुवानी हुन्थ्यो । हाट गएरै वर्ष दिनलाई पुग्ने खाद्यान्न, लत्ताकपडा ल्याउनु पथ्र्यौं । सवारी साधन नहुँदा पैदल हिँडेरै रूपैडिया पुग्न दुई÷तीन हप्ता लाग्थ्यो ।
पञ्चपुरी–५, बावियाचौरकी ७७ वर्षीय मैपती कामीलाई अहिले सम्झिदा ती दिन सपना जस्तै लाग्छन् । गाउँमा छाप्रा हटेर महल ठाडिएका छन्, घर नजिकै गाडी गुड्छन् । आँगनमै लत्ता कपडादेखि खाद्यान्न पाइन्छ । भन्छिन्, ‘खाना पकाउँदै गर्दा भान्सामा नून सकियो भने छेउकै पसलमा पाइन्छ । बिहान सदरमुकाम हिँड्यो बेलुका घर पुगिन्छ ।’ ती दिन सम्झिदा यस्तो विकास होला भन्ने उनले सोचेकी थिइनन् । गाउँमा विद्यालय, स्वास्थ्य संस्था खुले, सडक पुग्यो । पछिल्लो समय बाबियाचौरको
मुहार फेरिएको छ । संघीयता कार्यान्वयनसँगै साविकका तातापानी, बावियाचौर, सालकोट, विद्यापुर र छाप्रे गरी पञ्चपुरी नगरपालिका बनेको छ ।
वि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकामा बसोबास गर्ने कुल जनसंख्या ३२ हजार दुई सय ३१ रहेको थियो । अहिले जनसंख्याको चाँप ह्वात्तै बढेको छ । एउटा स्नातक तहसम्म पढाइ हुने क्याम्पस, १० वटा माध्यमिक विद्यालय, एक गुरुकूल, ४० प्रावि र १३ वटा आधारभूत गरी जम्मा ४५ वटा विद्यालय छन् । प्रत्येक वडामा स्वास्थ्य संस्था र एउटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत बनेका छन् । यसरी हेर्दा शिक्षा र स्वास्थ्यमा बावियाचौरबासीको पहुँच बढ्दो छ ।
स्थानीयकै लगानीमा तीन वटा लघुजलविद्युुत आयोजनाबाट ९२ किलोवाट विद्युत निकालिएको छ । नगरभित्रै राष्ट्रिय वाणिज्य बैंक, एनसीसी, कुमारी लगायत ३० भन्दा बढी सहकारी तथा लघुवित्तहरूले आर्थिक कारोबार गर्दै आएका छन् । २४ सै घण्टा प्रत्येक घर–घरका धारामा पानी आउँछ । ‘जति पानी प्रयोग गरिन्छ, त्यति बिल तिर्छौं’ पञ्चपुरी नगरपालिका–६ का ८० वर्षीय दलबहादुर कामी भन्छन्, ‘यस्तो विकास हेर्न पाइएला सोचेको थिइन् । पहिले जस्तो असुरक्षा महसुस छैन ।’ नगरपालिकमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, इलाका पशु कार्यालय, इलाका कृषि कार्यालय, इलाका वन कार्यालय लगायतका विभिन्न सरकारी कार्यालयहरू समेत खुलेका छन् । औद्योगिक विकाससमेत पछिल्लो समयमा भएको छ । आरामिल, पहाडी कागज उद्योग, ग्रिल उद्योग लगायतका विभिन्न उद्योगहरू समेत सञ्चालनमा आएका छन ।
शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युतमा विकास भएपछि नगर क्षेत्रमा जग्गा पलटिङ्ग बढेको छ । कुनै समय दुई÷चार हजारमा रोपनीका रूपमा बिक्री गर्ने जग्गा मिटरको दुई÷तीन लाख पुगेको छ । विकास भएपछि पछिल्लो समयमा डोटी, अछाम, कैलाली, जुम्ला, हुम्ला, कालिकोटलगायत जिल्लाबाट बसाइँ सरेर आउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेका छन् । भेरी नदीमा पक्की पुल बनेपछि कैलाली जिल्लासँग सिधा सम्पर्क जोडिएको छ । पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले पञ्चपुरीलाई समग्र कर्णाली प्रदेशमा नै चिनाउने गरी विकास गरिने बताउँछन् । त्यहाँका पर्यटकीय स्थलहरू जाजुरा दहताल, चमेरे गुफा, गौरीघाट, सातल्ले गुफालाई संरक्षण र सम्वद्र्धन गरी नगरपालिकाले गुरुयोजनासमेत बनाइएको उनले बताए ।

प्रकाशित मितिः   २० आश्विन २०७५, शनिबार १४:३८