‘स्वार्थी नेताले देश बिगारे’

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ असोज ।
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले स्वार्थी नेता र राजनीतिक दलहरूका कारण मुलुक बिग्रिएको आरोप लगाएका छन् । नागरिक सम्बोधन तथा पार्टीको संगठन विस्तारका क्रममा सुर्खेत आएका मिश्रले शुक्रवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ठूला र पुराना भनिएका पार्टीहरूको स्वार्थी राजनीतिले नै मुलुक पछि परेको आरोप लगाएका हुन् ।
नेपालका राजनीतिक नेतृत्व स्वार्थी हुँदा देशको अवस्था फेरिन नसकेको उनको भनाइ थियो । उनले राजनीतिक नेतृत्वमा कसरी पुग्ने र शोषण गर्ने भन्ने मानसिकता ठूला पार्टीमा रहेको बताए ।
‘मैले १४ वर्ष जेल जीवन बिताएँ, बाँकी जीवनभर मलाई राज्यको दोहन गर्न दिनुपर्छ भन्ने कुरा हामी स्वीकार्न सक्दैनौं’ उनले भने । मिश्रले थपे, ‘चप्पल लगाएर सांसद भनेका मन्त्री काठमाडौंमा पजेरो चढ्छन् । आफ्नो मात्रै होइन भाइ–भतिजालाई घर बनाएका छन् तर, भोट दिने तपाईंले के पाउनुभयो ?’
उनले अब मुलुकको हितमा काम गर्ने पार्टी विवेकशील साझा नै भएको जिकिर समेत गरे ।

प्रकाशित मितिः   २० आश्विन २०७५, शनिबार १४:३७