बसपार्कमा नागरिक सहायता कक्ष
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ असोज ।
चाडपर्व लक्षित गरी वीरेन्द्रनगर बसपार्कमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । चाडपर्व नजिकिंदै गर्दा सर्वसाधारणहरूको गुनासो सुन्न र समस्याको समाधान गर्न डेस्क स्थापना गरिएको हो । बसपार्कमा ओहोर–दोहार गर्ने यात्रुहरूले कुनै समस्या परेमा डेस्कमार्फत् प्रहरीको सहयोग पाउने छन् ।
यातायात व्यवसायीको लापरबाहीले यात्राका क्रममा हुन सक्ने चोरी, लुटपाट, दुव्र्यवहार, ठगी लगायत समस्या न्यूनीकरण गर्न बसपार्कमा डेस्क स्थापना गरिएको हो । हेल्प डेस्कमा २४ घण्टा नेपाल प्रहरीले सेवा दिनेछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चाडपर्वलाई मर्यादित बनाउन बसपार्कमा हेल्प डेस्क स्थापना गरिएको हो । सुर्खेतबाट कर्णालीका हिमाली तथा पहाडी जिल्लासहित संघीय राजधानी काठमाडौंका लागि बसहरू छुट्ने गर्छन् ।
यात्राका क्रममा यात्रुले पाएको सास्ती लगायतका गुनासोहरू सम्बोधन गर्ने गरी डेस्क खडा गरिएको जिल्ला प्रहरी प्रमुख बसन्त रजौरेले बताए । बसपार्कमा यात्रुहरूलाई सास्ती खेप्दै आएको गुनासो बढेसँगै प्रहरीले सवारी साधन माथि निगरानी बढाएको उनले बताए । चाडपर्वको समयमा सीट क्षमता भन्दा बढी यात्रुहरू बोक्ने सवारी साधनमाथि कडाइ गरिएको बताए ।
पैसा कमाउने होडबाजीका कारण चाडपर्वमा सवारी दुर्घटना बढ्ने गर्छन् । ग्रामीण क्षेत्रको कच्ची र साँघुरो सडक र क्षमता भन्दा बढी यात्रु लगायतका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । बढ्दो सवारी दुर्घटना रोक्न सहयोग पुग्ने उद्देश्यले डेस्क स्थापना गरिएको हो । डेस्कमार्फत् सुर्खेत बसपार्कबाट छुट्ने सवारी साधनको विवरण राख्ने र प्रत्येक चेकपोष्टमा प्रहरीकै कडा चेकिङ्ग गरिने एसपी रजौरेले बताए ।
उनले बसपार्कमा राखिएको यात्रु क्षमता भन्दा चेकपोष्टमा बढी पाइएमा बसलाई कारबाही हुने जानकारी दिए । चाडपर्वलाई सभ्य र भव्य तथा मर्यादित बनाउनु सबैको दायित्व भएको भन्दै उनले नागरिकको पक्षबाट पनि सहयोग गर्न आग्रह गरे । चाडपर्व अवधिभर अमर्यादित गतिविधि रोक्न र दुर्घटना न्यूनीकरण गर्न नागरिक तहबाट १०० मा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
यसैबीच, बसपार्कमा बिहीवार प्रहरीले सार्वजनिक सुनुवाइ गरेको छ । प्रहरी प्रशासन सुधार गर्न र नागरिकका गुनासा सुन्न सार्वजनिक रूपमा कार्यक्रम गरिएको हो । कार्यक्रमबाट प्राप्त सुझावलाई प्रहरीले कार्यान्वयन गर्दै जाने एसपी रजौरेले बताए ।
साझा बिसौनी ।