न्यायमा पहुँच बढाउन मेलमिलाप तालिम

जगतदल जनाला बिक
पञ्चपुरी, १८ असोज ।
न्यायमा आम नागरिकको पहुँच बढाउनका लागि मेलमिलाप तालिम सञ्चालन गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका मेलमिलापकर्ता, समुदायमा सक्रिय समाजसेवी, महिला सञ्जाल र न्यायिक समितिका प्रतिनिधिहरूलाई आधारभूत मेलमिलाप तथा कानुन सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएको हो ।
असोज १२ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको तालिममा चौकुनेका १० वटै वडाका महिला सञ्जाल र न्यायिक समितिका गरी ४० जनाको सहभागिता रहेको थियो । गाउँघरका सानातिना समस्याहरू स्थानीयस्तरमा नै समाधान गर्नका लागि तालिम प्रदान गरिएको जनाइएको छ । सिङ्गो गाउँपालिकामा भइरहेका विवादहरू सबै न्यायिक समितिको पहुँचमा नहुने भएकोले समुदायमा नै पहुँच पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले बताइन् ।
‘स्थानीय तहमा न्यायिक समिति गठन भएपछि केही हदसम्म समाधान भए पनि कतिपय सानातिना घटनाहरू न सम्बन्धित निकायमा जान्छन् न त न्यायिक समितिमा आउँछन्’ उनले भनिन्, ‘त्यसैले यस्ता समस्याहरू स्थानीयस्तरमा सहज रूपमै समाधान होउन् र न्यायमा सबैको पहुँच पु¥याउन महिला सञ्जाल र न्यायिक समितिका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको हो ।’ उनले भनिन् ।
तालिम लिएपछि चौकुने–१ पोखरेकी देवीसार थापाले अबदेखि समुदायमा हुने साना तिना विवादलाई समुदायमा नै मिलाउन सकिने बताइन् । यस्तै आफूले समुदायमा सानातिना विवाद, झै–झगडा मेलमिलाप गरे पनि नीति नियम थाहा नपाउँदा काम गर्न गार्हो भएको उनको भनाइ थियो ।
अब नीति नियमबारे पनि जानकारी पाएकाले सहज हुने चौकुने गाउँपालिका–७ का गोविन्द रानाले बताए । तालिमको सहजीकरण अधिवक्ता राजेन्द्र भारती र वीरेन्दकुमार थापाले गरेका थिए । चौकुने गाउँपालिकाले सात दिने तालिमका लागि चार लाख २१ हजार रकम विनियोजिन गरेको थियो ।

प्रकाशित मितिः   १९ आश्विन २०७५, शुक्रबार १४:१६