चित्रकला प्रदर्शनी हुँदै
सुर्खेत, १८ असोज । (साबिस)
सुर्खेतमा एकल चित्रकला प्रदर्शनी हुने भएको छ । उत्तम खड्काले तयार पारेका चित्रकलाको आउँदो शनिवार वीरेन्द्रनगरमा प्रदर्शनी गर्न लागिएको हो ।
सैनिक आवासीय महाविद्यालय सुर्खेतका शिक्षकसमेत रहेका खड्काले बिहीवार पत्रकार सम्मेलन गरी आफूले बनाएका विभिन्न विधाका ३५ वटा चित्रकला प्रदर्शनी गरिने जानकारी दिए । प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सिर्जनशीलतातर्फ आकर्षित गर्नुरहेको उनले बताए । प्रदर्शनीमा विभिन्न माध्यमबाट तयार गर्न सकिने जलरङ, तेलचित्र, चारकोल आर्ट र एक्रोलिक आर्टबारे पनि जानकारी गराउने चित्रकार खड्काले बताए ।
चित्रकलामा पश्चिम नेपालको सांस्कृतिक, धार्मिक, परम्परा, भेषभूषा, मूल्यमान्यता, भूगोल, संस्कार र संस्कृति उतारिएको उनको दाबी छ । ईच्छुकहरूले प्रदर्शनीमा राखिएका चित्रहरू खरिद गर्नसक्ने उनले बताए । ‘कोलाजहरूको दैया’ नाम दिइएको एकदिने चित्रकला प्रदर्शनीमा खड्काले चित्रकार, शिक्षक, विद्यार्थी, कलाकार, सञ्चारकर्मी तथा कलाप्रेमी सम्पूर्णलाई सहभागी भइदिन अनुरोधसमेत गरेका छन् । प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरस्थित होटल भ्याली भ्यू कटेजमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । प्रर्दशनी हेर्न कुनै शुल्क नलाग्ने बताइएको छ ।
साझा बिसौनी ।