राष्ट्रिय युवा सम्मेलन सुरु
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ असोज ।
सुर्खेतमा राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । नेपाल युवा सञ्जालको आयोजनामा वीरेन्द्रनगरमा बुधवारदेखि राष्ट्रिय युवा सम्मेलन सुरु भएको हो । तीन दिने सम्मेलनमा सात वटै प्रदेशका १८ देखि २४ वर्ष उमेर समूहका ६० युवा सहभागी छन् ।
सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि युवा सहभागिताको खाँचो औंल्याएका छन् । वैदेशिक रोजगारीका कारण युवाहरू बाहिरिने क्रम बढेको चिन्ता व्यक्त गर्दै उनले दक्ष युवा शक्तिविना कर्णाली समृद्ध बन्न नसक्ने बताए । मन्त्री ज्वालाले सरकारले चालू आवको बजेटमा युवा लक्षित थुपै्र कार्यक्रम ल्याएको बताए । उनले कर्णालीको विकासमा मुख्य समस्या नै दक्ष युवा जनशक्तिको कमी रहेको बताए । दिगो विकास लक्ष्य प्राप्तीका लागि युवाहरूको भूमिका महŒवपूर्ण हुने बताए ।
साथै मन्त्री ज्वालाले कर्णाली प्रदेशलाई विकासको नमूना प्रदेश निर्माण गरिने समेत बताए । पूर्वाधारको विकास विना यो प्रदेशको समग्र विकास सम्भव नभएको भन्दै प्रदेशको विकासका लागि पूर्वाधारलाई प्राथमिकता दिएको पनि बताए । यस्तै कर्णाली प्रदेशसभाका सदस्य कुर्मराज शाहीले विकृति विसंगतिहरूको विरुद्ध युवाहरू नै लाग्नुपर्नेमा जोड दिँदै युवाशक्ति जागरुक भएर आर्थिक समृद्धिमा लाग्ने बेला आएको बताए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य कृष्णराज धमालाले जलवायु परिवर्तनको असरलाई रोक्न, नविकरणीय ऊर्जाको प्रयोगमा वृद्धि गर्न, अर्गानिक उत्पादन बढाउन, बिसादीजन्य पदार्थमा रोक लगाउनु पर्नेमा जोड दिए ।
सञ्जालका राष्ट्रिय संयोजक अमृत देवकोटाले दिगो विकासका लक्ष्यलाई कसरी हासिल गर्ने र युवामैत्री नीतिका लागि युवाहरूबीच साझा धारणा तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । दिगो विकास लक्ष्यका पाँच आधारशीलामाथि विज्ञहरू डा. राजेन्द्र देवकोटा, योगेन्द्र शाही, नरेश शर्मा, बसन्त गौतम लगायतले सहजीकरण गरिरहेका छन् ।
साझा बिसौनी ।