बालबालिकालाई छात्रवृत्ति

साझा बिसौनी संवाददाता
दैलेख, १७ असोज ।
दलित, विपन्न तथा जोखिममा रहेका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने भएको छ । केन्द्रीय बाल कल्याण समिति, सार्क विकास कोषको सहयोगमा ‘टोल फ्री इन सार्क स्टेट’ परियोजना अन्तर्गत दैलेख जिल्लामा सञ्चालित बाल हेल्पलाइन नेपालमार्फत् छात्रवृत्ति प्रदान गरिने भएको हो । जिल्लाका ११ वटै स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत ९२ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
जिल्लामा सञ्चालित बाल हेल्पलाइनमा जोखिममा रहेका बालबालिकाको अवस्था विश्लेषण गरी छात्रवृत्तिका लागि छनौट गरिएको हो । आर्थिक अवस्था कमजोर भएका दलित, विपन्न र जोखिममा रहेका बालबालिकाहरूलाई प्राथमिकता दिइ छात्रवृत्ति प्रदान गर्न लागिएको बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले बताइन् ।
छात्रवृत्तिका लागि छनौटमा परेका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक प्रदान गरिनेछ । दैलेखमा सञ्चालित बाल हेल्पलाइनमा हाल अभिभावकविहीन तीन जना बालबालिका बस्दै आएका छन् । बालबालिकालाई छात्रवृत्तिसँगै उनीहरूको अभिभावकलाई समेत आयआर्जनका लागि सहयोग गरिने भएको छ ।
छात्रवृत्तिमा छनौट भएका बालबालिकामध्ये अति विपन्न बालबालिकाका अभिभावकलाई व्यवसाय सञ्चालनका लागि सहयोग गरिने सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले बताए ।

प्रकाशित मितिः   १८ आश्विन २०७५, बिहीबार १५:४७