बसबाट खसेका एक जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ असोज ।
चलिरहेको बसबाट खसेका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१२ का ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो । सुर्खेतदेखि नेपालगन्ज जाँदै गरेको ना ४ ख ७०२४ नं. को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं. को ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । शव परीक्षणका लागि क्षेत्रीय अस्पतालमा राखिएको उनले जानकारी दिए । बस तथा ट्रक चालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।