अवैध रूपमा व्यवसाय सञ्चालन

जाजरकोट, १७ असोज । (साबिस)
जाजरकोटका ग्रामीण क्षेत्रमा अवैध रूपमा व्यवसाय सञ्चालन गरेको पाइएको छ । चाडपर्वलक्षित गरी जिल्ला प्रशासन कार्यालय जाजरकोटले अनुगमनका क्रममा अवैध रूपमा व्यवसाय सञ्चालन गरेको पाइएको हो । अनुगमन टोलिले भेरीनगरपालिका–३ थाप्लेदेखि ठाँटी बजारका आस–पासमा रहेका थोक तथा खुद्रा पसल, मासु पसलहरूको अनुगमन गरेको थियो । ५० वटा पसल अनुगमन गर्दा ४० वटा पसल दर्ता नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।
अनुगमनका क्रममा दर्ता नभएका पसलहरूलाई सात दिनभित्र पसल दर्ता गर्ने निर्देशन दिइएको छ । बजारमा अनुगमन गर्दा बोतलको पिउने पानी, कुरमुरे लगायत अन्य म्याद नाघेको समान भटिएको सहायक प्रजिअ खतिवडाले बताए । उक्त म्याद नाघेको सामग्री बरामद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट ल्याइएको छ । चाडपर्व नजिकिएसँगै जाजरकोटमा बजार अनुगमन तीव्र पारिएको उनले बताए । प्रशासनको अगुवाइमा प्रहरी र उद्योग वाणिज्यका पदाधिकारहरू अनुगमनमा परिचालन गरिएको छ ।
साथै, छिन्चु–जाजरकोट सडक खण्डमा चल्ने सवारी साधनमा पनि छड्के अनुगमन गरिएको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाको नेतृत्वमा भेरी नगरपालिका–१३ को बराहचौरमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा क्षमताभन्दा बढी यात्रु र समान बोक्ने ११ वटा सवारी साधानलाई कारबाही गरिएको छ । जसबाट पाँच हजार पाँच सय राजस्व संकलन भएको छ ।

प्रकाशित मितिः   १८ आश्विन २०७५, बिहीबार १५:४६