गिट्टी र बालुवामा दोहोरो कर
जगतदल जनाला बिक
पञ्चपुरी, १७ असोज ।
पञ्चपुरीका टे«क्टर व्यवसायीहरू दोहोरो करको मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले असोजदेखि ढुंगा, बालुवा, गिट्टी ढुवानी गरेका टे«क्टरबाट प्रत्येक ट्रिपको दुई सयका दरले शुल्क लिइ रहेको छ । यस्तै बालुवा, ढुंगा ल्याउने सम्बन्धित क्षेत्रका सामुदायिक वनले पनि प्रत्येक ट्रिप पाँच सय रूपैयाँ लिँदै आएका छन् । जसले गर्दा व्यवसायीहरू दोहोरो मारमा परेका हुन् ।
नगरपालिका र सामुदायिक वन दुवैतिरबाट कर लिँदा प्रति ट्रिप सात सय रूपैयाँ तिर्नुपरिरहेको व्यवसायीहरूले बताएका छन् । पहिलदेखि नै प्रत्येक टे«क्टरमा ढुङ्गा, बालुवा एक पटकमा दुई हजार पाँच सय रूपैयाँमा ल्याउने गरे पनि अहिले तेलको महँगी, लोड अनलोड, चालक, सह–चालकको भत्ता, दुवैतर्फ कर र अन्य खर्च जोड्दा चार हजार भन्दा बढी पर्ने गरेको व्यवसायीहरूले बताएका छन् । व्यवसायी नारायणप्रसाद खरेलले पहिले भन्दा महँगो भएपछि आफूहरूको व्यवसाय धरापमा परेको बताए । ‘काम गर्नु अगाडि नै कामको पुरानै दरले ठेक्का गरियो अहिले दुईतर्फ कर तिनुपर्दा घाटा खाएर काम गर्नु परिरहेको छ ।’ व्यवसायीहरूले दोहोरो कर हटाउन माग गर्दै पञ्चपुरी नगरपालिकामा संयुक्त निवेदनसमेत दिएका छन् ।
यता सामुदायिक वनका प्रतिनिधिहरूले भने सामुदायिक विकासका कामका लागि वन क्षेत्रबाट शुल्क लिइएको जनाएका छन् । कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश देवकोटाले दोहोरो लिनु कुनै रहर र व्यक्तिगत स्वार्थमा नभइ बाढी प्रभावित क्षेत्रका प्राथमिक विद्यालयहरूमा निजी स्रोतका शिक्षकलाई तलब र अन्य सामुदायिक विकासका कामका लागि लिइएको जानकारी दिए । साथै उनले बालुवा, ढुंगा, गिट्टी जस्ता उत्खनन् कार्यहरू जोखिमयुक्त ठाउँमा गर्न नपाइनेसमेत जनाए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले दोहोरो कर हटाइने बताए । उनका अनुसार गत वर्ष जिविसले ठेक्का दिँदा पनि बाढी प्रभावित क्षेत्र भनेर नियम विपरित भए पनि न्यूनतम शुल्क सहयोग रूपम संकलन गर्न छुट दिएको थियो । मनोमानी रूपमा सामुदायिक वनले एक पटक पाँच सय रूपैयाँ लिएपछि नगरपालिकाले अबका दिनदेखि त्यसरी वनले रकम उठाउन नपाउने गरी आवश्यक पहल गर्ने जनाएको छ । बालुवा र गिट्टी संकलनका लागि नगरपालिकाले वन मन्त्रालयसँग स्वीकृत लिइसकेकोले केही दिनमै ठेक्का सम्झौता गर्ने नगर प्रमुख थापाले जानकारी दिए ।
साझा बिसौनी ।